Logo

Banner-news

सीएनआई अध्यक्षमा अग्रवाल, फुटबल खेलाडीदेखि निजी क्षेत्रको नेतृत्वसम्म !


GDP Nepal
   ७ श्रावण २०७८, बिहिबार


काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । परिसंघको बुधबार राजधानीमा सम्पन्न १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन् ।

अग्रवाल यसअघिको कार्यसमितिमा परिसंघको वरिष्ठ उपाध्यक्ष थिए । परिसंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

व्यवसायी अग्रवालले यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका छन् भने परिसंघको पूर्वाधार विकास समितिको सभापति भएर पनि काम गरेको अनुभव उनीसँग छ ।

पूर्व फुटबल खेलाडी समेत रहेका अग्रवाल नेपाल सुपर लिग विजेता काठमाडौं रेजर्स फुटबल क्लबका प्रमोटर पनि हुन् ।

सीएनआई अध्यक्षमा निर्वाचित अग्रवाललाई शुभकामना दिँदै निवर्तमान अध्यक्ष सतिशकुमार मोर ।

नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक रहेका छन् । उनको समूह अटोमोबाइल क्षेत्रमा अग्रणी मानिन्छ ।

एमएडब्लूमार्फत नेपालमा यामाहा ब्राण्डका दुईपाङ्ग्रे तथा स्कोडा, जीप, फियटलगायतका चार पाङ्ग्रे सवारीसाधन साथै जेसीबीका हेभी इक्युपमेन्ट बिक्री हुन्छन् ।

परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ । त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन हुनेछन् र उपाध्यक्षमध्येबाट एक वरिष्ठ उपाध्यक्ष निर्वाचित भइ अर्को कार्यकालमा स्वतः अध्यक्ष हुनेछन् ।

राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिप कुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन चयन भएका छन् ।

यस्तै, अनुज अग्रवाल, अर्पित अग्रवाल, दिपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाण कुमार चौधरी, बिक्रम सिंघानिया, दिलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई संस्थापक समूहबाटै चयन भए ।

यसैगरी प्रतिष्ठानगततर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीव कुमार गुप्ता, राज बहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन् ।

संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरेको परिसंघको साधारणसभामा युनियन अफ एसिएन चेम्बर्सको शुभारम्भ गरिएको छ । एसियाली देशका चेम्बरको साझा मञ्च निर्माण गर्ने उद्देश्यले युनिएन अफ एसिएन चेम्बर्सको शुभारम्भ गरिएको हो ।
युनिएन अफ एसिएन चेम्बर्सको नेतृत्व अहिले परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले लिएका छन् ।

कार्यक्रममा चौधरीले एसियाली देशहरुमा व्यापार सहजीकरण गर्ने, क्षेत्रीय आर्थिक विकासमा योगदान गर्ने र एसियालाई २१ औं शताब्दीको आर्थिक केन्द्र बनाउने गरी अघि बढ्ने उद्देश्य राखिएको उल्लेख गरे ।

प्रकाशित : ७ श्रावण २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह