Logo

Banner-news

९९.८ मेगावाटको तामाकोसी पाँचौंमा सञ्चय कोषको सवा ११ अर्ब ऋण


GDP Nepal
   ११ श्रावण २०७८, सोमबार


काठमाडौं । दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनामा ऋण लगानीका लागि त्रिपक्षीय समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र सचिव देवेन्द्र कार्कीको उपस्थितिमा आइतबार नेपाल विद्युत प्राधिकरण, आयोजनाको प्रवद्र्धक तामाकोसी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच एमओयूमा हस्ताक्षर भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिवमान प्रधान र कोषका प्रशासक तुलसी प्रसाद गौतमले एमओयूमा हस्ताक्षर गरेका छन् ।

करिब १६ अर्ब १९ करोड रुपैयाँ (१३ करोड ७२ लाख अमेरिकी डलर) अनुमानित लागत रहेको आयोजनामा कोषले ७० प्रतिशत (करिब ११ अर्ब ३३ करोड) रुपैयाँ ऋण लगानी गर्ने छ ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको आयोजनाको बाँकी रकम सर्बसाधारणलाईसमेत सेयर निश्कासन गरी स्वपुँजी (इक्विटी)बाट जुटाइने छ ।

तामाकोसी पाँचौं ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोसीको क्यास्केड आयोजना हो । त्यसैले तामाकोसी पाँचौले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक मानिएको छ ।

माथिल्लो तामाकोसीको विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युतगृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नु पर्ने छ ।

विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेको आयोजनाले विद्युत उत्पादनको अनुमति २०७४को जेठमै पाइसकेको छ । चीनको अगुवाइमा स्थापना भएको एसियन इन्फ्रास्ट्रक्चर लगानी बैक (एआईआईबी)को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ ।

आयोजनाको अहिले निर्माण पूर्वका कामहरु भइरहेका छन् । आयोजनाको निर्माण २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।

प्रकाशित : ११ श्रावण २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह