Logo

बिपी कोइराला: समाजवादी अर्थनीति, किसान र मजदुरमुखी योजना




काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३७ औं स्मृति दिवस मनाइरहँदा उनको राजनीतिक योगदान र साहित्यिक कृतिका विषयमा सर्वत्र चर्चा भइरहेको छ । तर, नेपालका प्रथम समाजवादी प्रधानमन्त्री कोइरालाको आर्थिक भिजन कस्तो थियो भन्ने कमैमात्र चर्चा सुनिन्छ ।


कोइराला आफूलाई समाजवादी भन्न रुचाउँथे । उनी बोलीमा मात्र नभइ व्यवहारमा पनि समाजवादी जीवनशैलीसँगै आफू सत्तामा पुगेका बेलासमेत यसैलाई आत्मसात गरेको पाइन्छ ।
कोइरालाको निधनपछि नेपाली कांग्रेसले विश्वव्यापीकरणको लहरसँगै आफूलाई पुँजीवादी पार्टीको अन्धाधुन्ध नक्कल गरे पनि कोइराला भने नेपालको माटो सुहाउँदो व्यवस्थाका पक्षमा रहेको उनका त्यतिबेलाका नीति तथा अभिव्यक्तिबाट प्रष्ट हुन सकिन्छ ।
बिपी कोइरालाले पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व गर्दा उदार समाजवादी विकासको आर्थिक, सामाजिक नीतिलाई प्राथमिकतासाथ लागू गरेका छन् । समाजवादी आर्थिक नीतिलाई वकालत गर्ने अग्रणी सरकार प्रमुखका रूपमा बिपी कोइरालाले आफूलाई स्थापित गरेको उनका समकालीनहरु स्वीकार्छन् ।
आफू प्रधानमन्त्रीका रूपमा मुलुकको कार्यकारी प्रमुख भइसकेपछि उनको अध्यक्षतामा बसेको योजना आयोगको बैठकमा विपीले भनेका थिए– नेपाल किसान र मजदुरको देश भएकाले जबसम्म हाम्रा किसान र मजदुरको उत्थान र विकास गर्न सकिँदैन तबसम्म यो मुलुकको विकास र राजनीतिक परिवर्तनले मूर्तता पाउन सक्दैन । त्यसैले विकासका योजना बनाउँदा तिनै किसान र मजदुरलाई आत्मसात् गरेर योजना बनाउनुपर्छ ।
कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीका शब्दमा प्रधानमन्त्रीका रूपमा बिपी भारतीय मोडलको समाजवादको असफलतासँग परिचित थिए र कयौंपटक यसको असफलताको बारेमा खुलेरै बोलेका पनि थिए ।
आर्थिक विकासको क्रममा रोजगारलाई वा वृद्धिदरलाई कुनलाई प्रमुखता दिने कुरो पनि योजनाकारको आफ्नो हातमा नभए पनि मुलुकमा उपलब्ध सीप, साधन र प्रविधिका आधारमा योजनाकारले आर्थिक विकासको नक्सा कोर्न सक्ने उनको धारणा थियो ।
बी.पी. कोइरालाले आपूm प्रधानमन्त्री भएको समयमा भनेका थिए, ‘‘….मैले एकचोटी प्रधानमन्त्रीको हैसियतले नेपालको दोस्रो पञ्चवर्षीय योजनाको छलफलमा भाग लिएको थिएँ । मलाई आर्थिक विषयको विशेष ज्ञान छैन । त्यसो हुँदा त्यस छलफल मैले आर्थिक नीतिका सिद्धान्तहरू र तिनका सामाजिक आर्थिक अभिप्रायलाई अभिव्यक्त गर्नुको अलावा लगानीको प्राथमिकताहरूलाई निश्चित गर्ने, साधनहरूको मूल्याङ्कन गर्ने र तिनको सङ्गठन गर्ने कुरामा मात्र सीमित रहनुप¥यो । त्यस बैठकमा मलाई राजनीतिक दृष्टिकोणले बडो घतलाग्दो कुरा के लाग्यो भने त्यस बहसमा भाग लिने विभिन्न पक्षका विशेषज्ञहरूका विचार एक पक्षीय र नितान्त भिन्न थिएनन् । … त्यस दिन नै मलाई व्यावहारिक महत्वका आर्थिक प्रश्नहरूको सम्बन्धमा ठूलो कि सानो परिमाणको आर्थिक विकास भन्ने विरोधी सिद्धान्तहरू केवल अर्थहीन रहेछन् भन्ने प्रस्ट भयो । … ’’
कोइराला आर्थिक विकासको अर्को पहलुको चर्चा पनि गर्छन् । सोभियत रुस र अमेरिकाको आर्थिक विकासको तुलना गरेर उनले एउटा निष्कर्ष निकालेका छन् । एउटा अमेरिकी अर्थशास्त्री डब्लू डब्लू रोस्टोवको हवाला दिएर कोइराला आर्थिक विकासको मोडलको खासै अर्थ नहुने कुरा बताउँछन् ।
कोइरालाकै शब्दमा उहाँको विचारलाई बुझ्न सकिन्छः ‘‘…एउटा विचारधाराले भन्छ आर्थिक विकासको एउटा निश्चित ऐतिहासिक पथलाई कहिल्यै छोट्याउन सकिँदैन । यस विचारधाराअनुसार रुसले हासिल गरेको आर्थिक विकासको कथित् चमत्कार एउटा भ्रम मात्र हो । रुसमा उपलब्ध भौतिक प्राकृतिक साधन एवं जनशक्तिका कारण यस ६० वर्षको अवधिमा कम्युनिस्ट रुसले हासिल गरेको विकासको वर्तमान स्थितिमा त कुनै अनावश्यक कष्ट नगरी र रुसी नागरिकहरको व्यक्तिगत स्वतन्त्रता नगुमाईकन नै स्वाभाविक किसिमले पुग्न सकिन्थ्यो । अमेरिकालाई पनि आफ्नो आखिरी निर्णायक लक्ष्यमा पुग्न सन् १८६० देखि १९१४ सम्मको ६० वर्ष नै लागेको थियो । … ’’ कोइरालाले यो तर्क डब्लू.डब्लू. रोस्टोवको विकासका पाँच चरण भन्ने पुस्तकका आधारमा आएको हो ।
बी.पी.ले प्रजातान्त्रिक राज्य कायम भएपछि आर्थिक मोडलका बारेमा विशेष चिन्ता गर्नु नपर्ने भनी अनेकौं कोणबाट तर्क गरेका छन् । यस ठहरको तार्किक परिणति स्पष्ट छ । कोइरालाले राजनीति र अर्थनीतिलाई दुई अलग–अलग खण्डमा राख्नुभएको छ । कोइरालाले ती पंक्ति लेख्दा सोभियत युनियन र अमेरिकामा दुई विपरित र विरोधी किसिमका राजनीतिक व्यवस्था थिए तर राजनीतिक व्यवस्था जेसुकै भए पनि त्यहाँको आर्थिक विकासको गति र गन्तव्य एकै नासको हुन्छ भन्ने रोस्टोवको स्थापना कोइरालाले ठीक देख्छन् ।

प्रतिक्रिया दिनुहोस्