Logo

तामाकोशी सेयरः करोडपति बन्ने सपनामा सञ्चयकोषका कर्मचारीले लाखौं डुबाए




काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयरबाट रातारात करोडपति बन्ने सपना देखेका सञ्चय कोषका कर्मचारीको उल्टै लाखौं रकम डुबेको छ ।

सञ्चय कोषका ४ सय ८२ कर्मचारीका लागि न्यूनतम २ हजार कित्ता ग्यारेन्टी गर्दै तीन वर्षअघि सेयर खुलेको थियो । जबकि कोषमा योगदान गर्नेहरुका लागि भने ५० कित्तामा सीमित गरिएको थियो ।

आवेदनका बेला कोषका कर्मचारीले औषत ३ लाख रुपैयाँ लगानी गरेर सेयर खरिद गरे पनि हालसम्म यसको कारोबार भएको छैन । स्थानीय र सर्वसाधारणलाई सेयर जारी भइसकेपछि मात्रै मूल्य तय हुने भएकाले अझै कहिलेसम्म उनीहरुले कुर्नुपर्ने हो भन्ने टुंगो छैन ।

कोषले आयोजनामा ऋण प्रवाह गरेकै आधारमा उनीहरुका लागि लगानी सुुरक्षित गरिएको हो । कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीलाई सेयर दिइनु वित्तीय अराजकताको पराकाष्ठा भए पनि ऋण प्रवाह गर्दा कर्मचारीको आलोचना खेप्नुपर्ने त्रासले यस्तो गैरन्यायिक सहमति गरिए पनि कसैले बिरोध गर्न सकेनन् ।

कोषमा २०६७ साउन १६ सम्म नियुक्त भएका ४ सय ८२ कर्मचारीलाई मात्र सेयर दिइएको थियो । त्यतिबेला ऋण खोजेर सेयरमा ३ लाख लगानी गरेको स्मरण गर्दै एक कर्मचारीले भने– तीन वर्षसम्म सेयर लिष्टिङसम्म भएन, हामीलाई नराम्ररी डुबायो ।

विगतमा चिलिमेको शेयर ३ हजार रुपैयाँसम्म पुगेको आधारमा तामाकोशीको सेयर मूल्य ५ हजारसम्म पुग्ने अपेक्षा गरिए पनि सेयर बजारको अहिलेको अवस्था तथा तामाकोशीको बढ्दो लागतका कारण यसको सेयर मूल्य ५ सय रुपैयाँको हाराहारीमा रहने विश्लेषकहरुको अनुमान छ ।

त्यसैले पनि नियम कानुन मिचेर सेयरमा लगानी गर्ने सञ्चय कोषसहित नागरिक लगानी कोष र नेपाल टेलिकमका कर्मचारीको लगानी प्रतिफलमूलक हुन नसक्ने देखिएको छ ।

२०७२ जेठ २९ गते कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुको लागि १ करोड ८२ लाख ९९ हजार ५२० कित्ता, कम्पनी लाई ऋण प्रदान गर्ने सँस्थाका कर्मचारीहरुका लागि ३० लाख ४९ हजार ९२० कित्ता र कम्पनी तथा विद्युत प्राधिकरणका कर्मचारीहरुका लागि ४० लाख ६६ हजार ५६० कित्ता शेयर बाँडफाँड गरिएको थियो । कोषले २०७१ फागुन ११ गते उल्लेखित संस्थाका कर्मचारीहरु लगायत २०६७ साउन १४ गते सम्म कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुका लागि २ करोड ५४लाख १६ हजार कित्ता सेयरका लागि सेयर आहृवान पत्र र्सार्वजनिक गरेको थियो ।

जलविद्युत कानुनका जानकार एवं चर्चित अधिवक्ता गोपाल चिन्तन यसरी कर्मचारीलाई सेयर प्रदान गरिनु ‘दादागिरि’को उदाहरण भएको बताउँछन् । उनले एक लेखमा भनेका छन्– सञ्चयकोषले शेयर लिए पनि संस्थागत शेयर लिने हो । त्यस्तै राष्टिय बिमा संस्थान र नागरिक लगानी कोषले पनि कर्मचारीका नाममा नभई विमित र लगानीकर्ताहरुका नाममा शेयर लिने हो । नत्र सार्वजनिक कोष र श्रीसम्पत्ति निजी प्रयोजनका लागि लगानी हुन्छ भने यिनै संस्थामा रकम सञ्चय गर्ने किन ? वीमा गर्ने किन ? लगानी गर्ने किन ? भोलि सञ्चयकर्ता, विमित र लगानीकर्ताले हात झिकिदिए भने के हुन्छ ?

प्रतिक्रिया दिनुहोस्