Logo

‘बिमस्टेकमा नेतृत्व संकट, थाइल्याण्ड र म्यानमारको झुकाव आसियानतर्फ’




काठमाडौं । पूर्वराजदूत एवं परराष्ट्रविद् प्रद्युम्न विक्रम शाहले बिमस्टेक नेतृत्व संकटबाट गुज्रिरहेको बताएका छन् ।

नेपालमा आउँदो महिना हुने बिमस्टेक सम्मेलनको तयारीका सन्दर्भमा शनिबार रिपोर्टर्स क्लबमा धारणा राख्नै पूर्वराजदूत शाहले बिमस्टेकको कमजोरी भनेकै नेतृत्वको संकट देखिएको सुनाए । उनले भने, ‘बिमस्टेकको अहिलेको कमजोरी भनेको यसको नेतृत्वमा देखिएको संकट नै हो ।’

थाइल्याण्ड र म्यानमारको झुकाव आसियान मुलुकसँग बढिरहेको उल्लेख गर्दै शाहले भने, ‘भारतको आसियानसँग ठूलो व्यापार छ, १५ भन्दा बढि संयन्त्र अहिले आसियानसँग सक्रिय छन् । भारतले आफ्नो व्यापार आसियानमार्फत गर्छ । भारतले आसियानमा नियोग स्थापना गरी आसियानसँग प्रत्यक्ष व्यापार अभिवृद्धि गरिरहेको छ । बिमस्टेकमा भारतलाई खासै चासो छैन ।’

शाहका अनुसार आसियानसँग भारतको ८७ बिलियन अमेरिकी डलरको व्यापार अहिलेपनि चलिरहेको छ ।
बिमस्टेकमा सदस्यताको प्रतिनिधित्वमा सन्तुलन नभएको उनको भनाई छ । शाहले भने, ‘भविष्यमा लाओस्, भियत्नामा, मलेसिया र कम्बोडियाजस्ता मुलुकलाई पनि बिमस्टेकमा सहभागी गराउनुपर्छ । यसो गर्न सकियो भने सार्क र आसियान क्षेत्रका सदस्यहरूको सन्तुलन हुन्छ । बिमस्टेक भनेको आसिायन र सार्कको पुल हो । यसलाई सन्तुलन बनाउन जरुरी छ।’
शिखर सम्मेलनमार्फत बिमस्टेक बडापत्र बनाउन आवाज उठाउनुपर्ने उनको धारणा छ ।

उनले भने,‘यसलाई राम्रोसँग सञ्चालन गर्नको लागि पनि बडापत्र चाहिन्छ । बिमस्टेकको बडापत्र सार्कजस्तो नभएर अलिक फ्लेक्जिवल हुुनुपर्छ ।’

बिमस्टेकको आफ्नै छुट्टै बैंक हुन सके राम्रो हुने उनको सुझाव छ । उनले थपे,‘सन् २०१६ मा भारतको गोवामा भएको ब्रिक्स–बिमस्टेक आउटरिच सम्मेलनले पनि ब्रिक्स बैंकमार्फत बिमस्टेक राष्ट्रहरूलाई फाईनाईन्सियल सुविधान दिने घोषणा गरेका थियो । हामीले एआईआईबीमार्फत जहाँ (भारत, चीन र नेपाल) संस्थापक सदस्य छन् । त्यस्ता बैंकबाट न्यून ब्याजमा सफ्ट लोन लिएर क्षेत्रिय परियोजनाहरू अघि बढाउनुपर्छ ।’

शाहले विमस्टेटकको प्राथमिकतामा कनेक्टिभिटी (रेल, विमान र यातायात) र उर्जा क्षेत्रलाई राख्नुपर्ने धारणा राखे । त्यस्तै पर्यटन क्षेत्रलाई पनि बिमस्टेकले बढावा दिनुपर्ने उनको सुझाव छ । उनले भने,‘यही सम्मेलनमार्फत बुद्धिष्ट सर्किटको अवधारणालाई अघि बढाउन संयुक्त प्रयास गर्नुपर्छ । यसको लागि नेपालले विशेष पहल गर्नुपर्छ।’

बिमस्टेकमा उच्च हिमालदेखि पानीको जिरो लेभलसम्मका राष्ट्रहरू आवद्ध भएको उल्लेख गर्दै शाहले भने,‘बिमस्टेकमा हिमाल, पहाड र नदीनाला सबै छन् । यस्तो कुराहरू सार्क, आसियान लगायत अरुमा फोरममा पाईँदैन् । बिमस्टेकमा त बायो डाईडाईभर्सीटी छ ।’

बिमस्टेकले माउन्टेन ईकोनोमीको अवधकारणापत्र समेत तयार पारिरहेको उनले जनाए । उनले भने,‘बिमस्टेकमा भएको जैविक विविधताको फाईदा लिनुपर्छ ।

बिमस्टेकले ‘ब्लु–ईनोनोमी’ को अवधारणालाई अघि सारेको सनाउँदै उनले भने,‘नेपाल भुपरिवेष्ठित राष्ट्र भएपनि हामीले सामुन्द्रिक कानून अनुसार समुन्द्रको उच्च तट (२०० सय माईल) सम्म हाम्रो हक हुन्छ । नेभिगेशनको हक तथा उच्च समुन्द्र तटमा भएका सम्पत्तिहरूको हक (ग्याँस, पेट्रोल) हुने कुरालाई यस पटकको शिखर सम्मेलनमा नेपालले उठाउनुपर्छ ।’

शाहले नेपाल अध्यक्ष राष्ट्र भएकोले बिमस्टेक सम्मेलनमार्फत आगामी सन् २०३० सम्मको भिजनरी डकुमेन्ट तयारी गर्नुपर्ने सुझाव दिए । उले भने,‘भिजनरी डकुमेन्ट बनाउनको नेपाल अध्यक्ष राष्ट्र भएकोले सन् २०३० सम्म अग्रसरता लिनुपर्छ ।’

नेपालले कनेक्टिभीटी र विद्युत् व्यापारमा बढी जोड दिनुपर्छः शर्मा
कार्यक्रममा पूर्वराजदूत डा. शंकर शर्माले काठमाडौंमा यही अगष्ट ३० र ३१ मा हुने बिमस्टेक शिखर सम्मेलनमा नेपालले कनेक्टिभीटी र विद्युत् व्यापारमा बढी जोड दिनुपर्ने बताएका छन् ।  शर्माले भने,‘नेपालले विद्युत् र पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनमा बढि जोड दिनुपर्छ । बिमस्टेकका सदस्य राष्ट्रहरूसँग नेपालको पर्यटन वृद्धि र विद्युत् व्यापार बढाउनुपर्छ ।’ नेपालले यी मुद्दामा बढि जोड दियो भने व्यापार घाटा कम गर्न सकिने पनि उनको जोड थियो ।

शर्माले अघि थपे, ‘जलविद्युत्मा हामीले सहकार्य गर्न सक्यौं भने बढिभन्दा बढि लाभ हाँसिल गर्न सक्छौं । नेपालमा धार्मिक, आध्यात्मिक, सांस्कृतिक र साहसिक पर्यटनको बढि सम्भावना छ । यसको विकासमा नेपालले ध्यान पुर्याउनुपर्छ । बिमस्टेक राष्ट्रहरूसँग मिलेर यसको प्रवद्र्धनमा जोड दिनुपर्छ । अहिले उपर्युक्त मौका हो ।’

बिमस्टेक राष्ट्रहरूबीच कनेकक्टिभीटी कमजोर रहेको सुनाउँदै अब यो सम्मेलनमार्फत एक अर्का राष्ट्रबीच जोडिने सञ्जालहरूलाई बढावा दिनुपर्ने शर्माको भनाई छ । उनले भने,‘हवाई, जल, सडक सबै सञ्जालहरूलाई अघि बढाउनुपर्छ । अहिले धेरै ग्याप देखियो ।’

नेपालले बिमस्टेकलाई सही सदुपयोग गर्नुपर्ने शर्माको भनाई छ । उनले भने,‘बिमस्टेकमार्फत हामीले आर्थिक वृद्धि हाँसिल गर्नुपर्छ । विज्ञान तथा प्रविधि क्षेत्रको पनि विकास उतिकै महत्वपूर्ण छ । जीवनस्तर उकास्नको लागि पनि बिमस्टेक उपयोगी छ ।’ तालिम तथा अनुशन्धनात्मक कार्यक्रमहरू पनि बिमस्टेकमार्फत अघि बढाउन नेपालले जोड दिनुपर्ने उनको सुझाव छ ।

बिमस्टेकमार्फत नेपालले लगानी भित्र्याउनुपर्ने पनि उनको जोड छ । उनले भने,‘बिमस्टेकको बजारलाई बढाउनुपर्छ । भन्सारलाई व्यवस्थित् गर्नुपर्छ ।’

उक्त सम्मेलनमा भाग लिनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपनि नेपाल आउने भएकोले नेपालले बहुपक्षीय सम्बन्धमा विशेष ध्यान पुर्याउनुपर्ने बताए । उनले भने,‘भारतसँग यदि व्यापारसम्बन्धी केही समस्या भए मोदी आएकै बेलामा गाँठो फुकाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्