Logo

बिमस्टेक राष्ट्रका कार्यकारी प्रमुखहरु काठमाडौंमा, शिखर सम्मेलन आज




काठमाडौं । बिमस्टेकको चौथो शिखर सम्मेलन आजदेखि राजधानी काठमाडौंमा हुने छ । प्रधानमन्त्री एवं बिमस्टेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलन उदघाटन गर्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा नेपाल बाहेक ६ मुलुकका कार्यकारी प्रमुख सहभागी हुँदैछन् ।

सम्मेलनमा भाग लिन बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा काठमाडौं आइसकेका छन् ।

शिखर बैठकको प्रारम्भसँगै अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्नेछन् भने काठमाडौं घोषणापत्र जारी गर्दै भोलि अपराह्न शिखर सम्मेलन समापन हुनेछ । सम्मेलन समाप्तिसँगै बिमस्टेकको अध्यक्षता श्रीलङ्काले गर्ने छ ।

यसअघि बुधबार बिमस्टेकको १६औँ मन्त्रिस्तरीय बैठकले सङ्गठनलाई प्रभावकारी, परिणाममुखी र सदस्य देशका नागरिकलाई अनुभूत हुने उपक्षेत्रीय सङ्गठनका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा आज राजधानीमा सम्पन्न उक्त बैठकले सङ्गठनका सहायताका क्षेत्रहरुको प्राथमिकता निर्धारण गर्दै तिनलाई समग्र बिमस्टेक भेगको आर्थिक उन्नयनमा केन्द्रित गर्नुपर्नेमा मतैक्यता प्रकट गरेको हो ।

रेल, सडक, हवाईमार्ग र अप्टिकल फाइबरका माध्यमबाट सदस्य मुलुकबीच सम्पर्क र सम्बन्ध विस्तार, व्यापार, पर्यटन, ऊर्जा र कृषिजस्ता आर्थिक विकासका मुख्य क्षेत्रमा सङ्गठनको सहायता बढाउनु अपरिहार्य भएको स्वीकार गर्दै बैठकले विकासका अथाह सम्भावनायुक्त बिमस्टेक क्षेत्रलाई शान्त, समृद्ध र दिगो विकासतर्फ उन्मुख गराउन सामूहिक प्रयास गर्ने दृढता पनि व्यक्त गरेको छ ।

सङ्गठनका गतिविधिलाई पूर्णरुपमा कार्यान्वय गर्न बैठकले सशक्त कदम चाल्न सहमति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्