Logo

तातोपानी नाकामा चीनको बहानै–बहाना, किन यस्तो गर्दैछ ‘असल छिमेकी’ ?




काठमाडौं । भूकम्पपछि बन्द भएको चीनतर्फको सबैभन्दा ठूलो नाका तातोपानी पुनः खुलाउन नेपालले हरसम्भव प्रयाश गरे पनि चीनले भने पटक्कै रुचि देखाएको छैन ।

चीनले एकपछि अर्को बहाना देखाएर तातोपानी नाका पुनः सञ्चालनमा अर्घेल्याइँ गरिरहेको नेपाली अधिकारीहरुले महशुस गरेका छन् । भूकम्पले भत्काएका संरचनाहरु सामान्य मर्मतपछि सञ्चालनमा आउने भए पनि चिनियाँ पक्षले एकपछि अर्को बहाना देखाउँदै पुनः सञ्चालनमा अस्वीकार गर्दै आएको छ ।

तातोपानी नाकाको विकल्पका रुपमा अघि सारिएको रसुवागढी केरुङ नाका बाह्रै महिना सञ्चालनमा आउन नसक्ने देखिएकाले नेपाल चीन व्यापारमा यो नाका निर्विकल्पजस्तै देखिएको छ ।

तातोपानी नाका बन्द भएपछि नेपालमा चीनतर्फबाट ठूला कन्टेनर आउन नसकी सामूद्रिक मार्ग हुँदै कोलकाता बन्दरगाहमा ल्याएर वीरगन्ज हुँदै काठमाडौंसम्म ल्याउनु परिरहेको छ । यसले पहिलेभन्दा झन्डै ४ गुणा बढी लागत र ३ सातासम्म समय बढी लाग्ने गरेको छ ।

सिन्धुपाल्चोकको जुरेमा पहिरो गएपछि सडकमा पूर्ण क्षति हुँदासमेत नेपालले २ सातामै यातायात सञ्चालनमा ल्याएको थियो । अहिले त्योभन्दा कम क्षति भएको स्थानमा समेत चीनले सुरक्षाकै बहानामा नाका खुलाउन चाहिरहेको छैन ।

चिनियाँ पक्षले अहिले फेरि दुई देशबीचको नाका सञ्चालनमा ल्याउन मितेरी पुल नै नयाँ बनाउनुपर्ने शर्त अघि सारेको छ । उक्त पुलमा भूकम्पले क्षति पु¥याएको भए पनि मर्मतपछि सञ्चालनयोग्य रहेको नेपाली प्राविधिकहरु बताउँछन् । तर, चीनले जतिसक्यो नाका रोक्न नै यस्तो बहाना गरिरहेको उनीहरुको आरोप छ ।

नेपालले प्रधानमन्त्रीको चीन भ्रमणदेखि हरेक उच्चस्तरीय बैठकमा तातोपानी नाकाको विषयलाई प्राथमिकताका साथ उठाउँदै आइरहेको छ ।

विगतमा तातोपानी नाकाबाट ठूलो परिमाणमा सुन तस्करी भएकाले अन्तर्राष्ट्रियस्तरमै यो नाका बदनाम छ । तस्करीमा चिनियाँ र नेपाली दुवै देशका नागरिक संलग्न भएकाले पनि चीनको चासो बढी छ ।

तातोपानीपछि सञ्चालनमा आएको केरुङबाट पनि सुन तस्करी हुने गरेको छ तर यसमा नगण्य परिमाण छ । यस्तै, तातोपानीबाटै फ्री तिब्बत गतिविधि हुने गरेको भन्दै चीन यो नाकाप्रति सकारात्मक छैन ।

प्रतिक्रिया दिनुहोस्