Logo

डा. मधु घिमिरे लेख्छन्ः अमानवीय राज्यको चिकित्सकप्रतिको कुटिल मनसायलाई एकजुट भएर चकनाचुर पारौं !




काठमाडौं । नेपालका प्रसिद्ध चिकित्सक डा. मधु घिमिरेले मुलुकी ऐनको फौजदारी तथा देवानी संहितालाई अमानवीय राज्यको चिकित्सकहरु प्रतिको कुटिल मनशायका रुपमा टिप्पणी गरेका छन् । उनले यस्तो मनसायलाई एकजुट भएर चकनाचुर पार्न सार्वजनिक अपिलसमेत गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाका निजी चिकित्सकका रुपमा रहेका डा. घिमिरे पेटसम्बन्धी रोगका वरिष्ठ चिकित्सक हुन् ।
मुलुकी अपराध ९संहिता० ऐन २०७४ मा उपचारका क्रममा चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु पुष्टि भए ५ वर्ष कैद र हेलचेक्र्याइँबाट बिरामीको मृत्यु भए त्यस्ता डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्थामा चिकित्सकहरूको आपत्तिका विषयमा डा. घिमिरेले नेपाल चिकित्सक संघलाई सम्बोधन गर्दै फेसबुकमार्फत गरेको गरेको टिप्पणी जस्ताको तस्तैः

समस्त चिकित्सकहरुमा मेरो हार्दिक अभिवादन !

म यो संस्थाको सन १९७३ देखिको सदस्य हुँ। बुढो चिकित्सकको नाताले केही कुरा तपाईंहरुको समक्ष राख्नु जरुरी संझेको छु। चिकित्सकहरु समाजका दास हैनन्ः न त राज्यको नै। हामी समाजका सहयात्री हौं। समाजको हरेक सदस्यसंग हाम्रो मिलन संबन्धको गाँठों छ। हामी आफ्नोसमाजलाई आफुले सिकेको शीप र ल्याकत अनुसार सेबा गर्ने प्रण गर्दै यो व्यवशायमा प्रतिबद्ध भएका हौं। यो हाम्रो साधना, साधन र जीविका पनि हो। संसारभरी चिकित्सकको जमातलाई सुविधायुक्त रहन(सहनसंग बाच्न प्रेरित गरिन्छ उसले प्रदान गरेको सेवाको संम्मानमा।

शीप र ल्याकत सबैमा समान हुंदैन। भरखर विश्वविद्यालयको निर्धारित समयावधिको अध्ययन सकेर सेवामा सामिल भएको चिकित्सकको शीपमा कमी हुनु स्वांभाविक हो। उस्ले आफ्नो शीप र अनुभव दिनानु दिन जिन्दगी भर संगाल्दै जानु र नवीकरण गर्दै जानु पर्ने आवश्यकता या बाध्यता यो व्यवशायको खाशीयत हो। त्यही कारणले गर्दा यो व्यवशायभित्र जस्तो भातृत्व र बहनत्वको कड़ा कड़ी अरु व्यवशायमा कमै देखिन्छ। शीपालु चिकितिसकले आफ्नो व्यवसायिक भाई तथा बहीनिलाई साथमा राखी आफ्नो शीप हस्तान्तरण गर्दै जाने प्रचलन संसार भरीको अलिखित नियम हो। सो नभएको खण्डमा शीपहरुनै लोप हुने निश्चित छ।

हामी चिकित्सकहरुमा मानवीय कमजोरीहरु पनि छन्। पद र पदार्थ संगाल्न पाईन्छ कि भनेर यौटा यौटा राजनैतिक समूह समातेर व्यक्तिगत लोभको प्रतिपूर्ति गर्न जहिले पनि तत्पर भयौं। त्यस किसिमको व्यवहारले यो संस्थाको मेरुदणड अलि फुस्किएकै हो तर समय छ हामीसबैलाई अर्थोपेडिक सर्जन भएर यो संस्थाको मेरुदण्ड ठीकसंग फेरी मिलाउने।

यो संस्था राजनैतिक दलहरुको भातृ या चेली संगठन हुनु व्यवशायको निम्ति ठूलो दुर्भाग्य हुन गयो र जान्छ। यही धारणा बोकेर हिंडदा र राजनीतिक शक्ति बोकेर सन् १९९०को जनआन्दोलन पछि हिंडेका दुबै खेमाका चिकित्सक हस्ती डा शशांक कोईराला, डा मथुरा श्रेष्ठ र डा वंशीधर मिश्रलाई संझाउन नसक्दा र स्वर्गीय प्रधान मन्त्री गिरिराज कोईराला समक्ष पनि नेचिसंलाई तटस्थ व्यवशायिक संगठनको रुपमा बांच्न दिउं भन्ने विनयको सुनुवाई नभए पछि १९९२ पछिको संस्थानको कुनै पनि चुनावमा भाग लिनबाट आफुलाई बंचित गराएं।

आजको दिनमा हामी प्रति राज्य र समाजले पनि देखाएको अपमान त्यही दलगत र अव्यवसायिक चरित्र हामीले बोकेर हिंडेको कारणको परिणति हो भन्नेमा म अडिग छु।

उपायस् चिकित्सा पेशामा लगनशीलताले अत्यन्त दुर गामी माने राख्दछ भन्ने कुरा हामी कसैले पनि विर्सनु हुंदैन। लगनशीलता विरामीको उपचारमा मात्र सिमित नभएर दिनहुं जस्तो परिस्कृत प्रक्रियामा अग्रसर हुनु पर्ने व्यवशाय हो यो। यही परिप्रेक्ष्यमा दुराशय, लापरवाही र हेलचक्र्याईको व्याख्या हुनु जरुरी छ। त्यो कसौटीमा हामी सबैले समर्पित हुनै पर्दछ। जानी जानी कुनै पनि चिकित्सकले आफ्नो विरामीको अहितको कल्पना पनि गर्दैन। अहित हुन जान्छ या त ल्याकतको कमीले, या त हेलचक्र्याईं वा लापरवाहीले गर्दा या व्यवस्थापनमै भएका कमज़ोरीले।

यस संदर्भमा भन्नु पर्दा नेपाल चिकित्सक संघले मूल नेतृत्व लिनु पर्दथ्यो राजनीतिको अलमल छोडेर देशभरीको चिकित्सा स्तरको अनुगमन र व्याप्त रुपमा भएका कमजोरीहरुलाई सच्च्याउने तर्फ। राज्यतिरबाट भएका कमजोरीहरुमाथि कड़ा चेतावनी जानु पर्दथ्यो। चिकित्सा विज्ञानका विविध विधालाई ठाउं दिएर त्यस विधाका नयां तथा चलनचल्तीमा भैराखेको प्रविधिहरुको शिक्षण गोष्ठीहरु चलाई कहाँ के कस्ता कमजोरीहरु छन त्यसको नियमित अनुगमन गरी कमज़ोर पक्षलाई सचेत गर्नु र कमज़ोरी सच्च्याउन मद्दतको प्रयोजन हुनु पर्थ्यो। ती कुराहरु भएनन्।

महामारीहरु बरषौनी भैराख्ने देशमा चिकित्सक समुहको ख़ास ठूलो चासो देखिएनस के देखियो भने स्थानीय तथा केन्द्रीय राजनीतिक उपलब्धिको निम्ति कहीं समस्या देखियो भने ‘नी जर्क रियाक्शन’ अनुरुप समस्यालाई ढाकछोप गर्ने र संचार माध्यमद्वारा आआफ्नो राजनैतिक समूहलाई र नीज आफुलाई नाफा दिलाउने र लिने मात्र काम भयो। देशभरी बर्षौनी व्यापक रुपमा महामारी हुनु र त्यसबाट नागरिकको अकाल मृत्यु हुनुको पछाडि चिकित्सक समूह पनि निर्दोष छैनन्। मूल दोषी त राज्य नै हो जस्ले बार्है मैना सर्बेक्षणको कार्यक्रममा वेवास्ता गरीरहेको छ। ईमान्दारीसाथ गरिने सर्वेक्षण सस्तो मूल्यमा संभव छैन।

विदेशमा मृगौलाको रोगको उपचार गर्न जांदा र कोलोनोस्कोपी गर्न दल बल सहित टोकियो पुग्नु सम्मको रक़मको सही लगानी भएको भए देशको आधा भागमा स्तरीय प्रयोगशालाहरु समेतको सर्बेक्षण प्रणाली स्थापित गर्न सकिन्थ्यो। स्तरीय प्रयोगशाला विनाको सर्बेक्षण भनेको जुवा खेलाई हो। नागरिकको ज्यान जुवामा बाज़ी राख्ने हक़ हाम्रो राज्यले मात्र प्राप्त गरेको छ। यस्तो स्थितिमा नेपाल चिकित्सक संघ मौन साक्षी भएर बसीरहनु अतुल्यनीय कमज़ोरी हो।

हाम्रा यस्ता कमजोरीहरुको नाजायज़ फ़ायदा उठाउन राज्यले जनमोहक तर अत्यन्त असान्दर्भिक, चेतनशून्य र अमानवीय किसिमको कानूनको तर्जुमा गर्ने मौक़ा पायो। अब यो क़ानून अनुरुप मैले कुनै पनि विरामीलाई उपचार गर्नु पर्दा पहिले आफुलाई आपराधिक न्यायालयको कठघराभित्र हुलेर मात्र त्यो हिम्मत गर्नु पर्यो। विरामी बांच्यो र खुशीसाथ घर फर्क्यो भने मात्र म त्यो कठघराबाट फुत्किन पाउने भएं।

कुनै देशमा क़ानून छैन आफुले आफैंलाई आपराधिक दोषी तोक्ने वाध्यता। त्यसैले चिकित्सकसंघका समस्त सदस्यहरुलाई विनम्र अनुरोध छ कि हामी हाम्रा कमी कमजोरीहरुलाई सच्च्याउने कसरत तिर पनि लागौं र यो अमानवीय राज्यको चिकित्सकहरु प्रतिको कुटिल मनशायलाई एकजुट भएर चकनाचुर पारौं।

फेरी पनि सादर अभिवादन !!

मधु घिमिरे, एमविविएस (दिल्ली), एमआरसिपि (युके), एफआरसिपि (एडिनबरा)
जीबान्त सदस्य
नेपाल मेडिकल एसोशिएश

प्रतिक्रिया दिनुहोस्