Logo

भारतीय मिडियाको चिन्ताः नेपालपछि भुटान पनि भारतसँग टाढिँदै !




काठमाडौं । भारतका सञ्चारमाध्यमहरुले छिमेकी मुलुकबाट आएको चुनौतीमा अब नयाँ नाम भुटान हुन सक्ने देखिएको जनाएका छन् ।

सञ्चारमाध्यमहरुका अनुसार नेपालको चीनसँगको निकटतापछि भुटानमा पिपुल्स डेमोक्र्याटिक पार्टी चुनावमा पछि पर्नुलाई भारतका लागि राम्रो संकेत मानिएको छैन ।

पार्टीका प्रमुख तथा मौजुदा प्रधानमन्त्री छिरिङ तोब्गेलाई भारतप्रति उदार र सहयोगी विदेश नीति लिने व्यक्तिका रूपमा मानिँदै आएको छ । यद्यपि भुटानको चुनावको पहिलो चरणपछि उनको पार्टी तेस्रो स्थानमा आएको छ ।

नएए न्यामरुप शोगपाको पार्टी पहिलो स्थानमा आएको छ । मुख्य विपक्षि दल फेन्सुमा शोगपाको डीपीटी दोस्रो स्थानमा रहेको छ । यो दल १८ अक्टोबरसम्म अन्तिम नतिजा आउनुभन्दा पहिलेसम्म बलियो दाबेदारका रूपमा देखा परेको छ ।

हाल भुटानसँग भारतको सम्बन्ध राम्रो रहँदै आएको छ, तर डीपीटी सत्तामा आयो भने समीकरणमा फेरबदल हुन सक्ने अनुमान गरिएको छ । २००८ देखि २०१३ सम्म डीपीटी पार्टी सत्तामा भएको समयमा भुटान र भारतबीचको सम्बन्धमा खासै तिक्तता आएको थिएन ।

भुटानका तत्कालीन प्रधानमन्त्री तथा डीपीटीको पार्टी लाइन चीनप्रति झुकाव राख्दै आएको छ । पार्टीले आफ्नो घोषणापत्रमा देशको ८० प्रतिशतभन्दा बढी उत्पादन भारतमा निर्यात गर्नाले देशलाई बेफाइदा हँुदै आएको उल्लेख छ । यद्यपि नतिजापछि भारतलाई लिएर कुनै पनि पार्टीका तर्फबाट कुनै पनि नकारात्मक कुरा गरिएको छैन ।

विगत केही समयदेखि नेपाल–भारत सम्बन्धमा उतारचढाव देखिँदै आएको छ । कुनै समयमा नेपाल भारतको अहम् सहयोगी रहँदै आएको थियो, तर ओलीको नयाँ सरकारले लगातार चीनसँगको सम्पर्कमा वृद्धि गर्दै आएको छ ।
सञ्चारमाध्महरुका अनुसार हालसालै मात्र नेपालले भारतसँग सैन्य अभ्यास गर्न अस्वीकार गरेको थियो । तर, नेपालले चीनसँग भने एक ठूलो सैन्य अभ्यास गर्ने प्रयासमा रहेको छ ।

भारत र नेपालबीचको सम्बन्ध २०१५ देखि खराब हुन सुरु भएको थियो । भारतले मधेसी जनताको हितको हवाला दिँदै नेपालमा अत्यावश्यक सामग्रीको आपूर्ति २ महिनाका लागि बन्द गरिदिएको थियो ।
उक्त समयमा नेपालमा नयाँ संविधानका लागि काम भइरहेको थियो । भारत लगातार मधेसीको समान हितका मुद्दा उठाइरहेको थियो ।

तर, नेपालमाथि दबाब बनाउने भारतको प्रयासविपरीत भएको थियो र नेपाल र भारतबीचको दूरी बढेको थियो । २०१३ मा भारतले मटीतेल र खाना पकाउने ग्यासमा दिइदै आएको सहुलियत बन्द गरेपछि भारत र भुटानबीचको सम्बन्धमा केही नमीठोपना आएको थियो । उक्त समयमा भुटानमा चुनाव थियो ।

भुटानमा पनि पेट्रोल र डिजेलको मूल्यमा पनि भारी वृद्धि भएको थियो । उक्त समयमा भुटानका प्रधानमन्त्रीले आफ्ना चिनियाँ समकक्षीसँगको भेटघाट गरेको आरोपमा भारतले यो कदम उठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्