Logo

नेपालका आकर्षक आयोजना धमाधम चिनियाँलाई ! बूढीगन्डकी, बाहिरी चक्रपथपछि तमोर पनि बुझाइँदै




काठमाडौं । दुई तिहाई बहुमतको वर्तमान सरकारले नेपालका आकर्षक पूर्वाधारजन्य आयोजना धमाधम चिनियाँ कम्पनीलाई दिन थालेको छ ।

 

नेपालले आफैं बनाउने भनेर रकम जुटाउँदै गरेको बूढीगन्डकी आयोजना विवादास्पद चिनियाँ कम्पनी चाइना गेजुवालाई दिने निर्णय गरेको एक साता नबित्दै बाहिरी चक्रपथ समेत चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको सरकारले पूर्वी नेपालको आकर्षक आयोजना तमोर पनि चिनियाँ कम्पनीलाई नै दिने भएको छ ।

नेपालका ठूला आयोजना निर्माणका लागि प्रतिस्पर्धाका आधारमा प्रवद्र्धक छनोट गर्नुपर्नेमा सरकारले मनोमानी रुपमा एकपछि अर्को चिनियाँ कम्पनीलाई दिन थालिएको छ ।बाहिरी चक्रपथ पनि ईपीसीएफ मोडलमा चाइना इनर्जी इन्जिनियरिंग कर्पोरेसन नामक कम्पनीलाई दिन लागिएको छ ।

 

७६२ आयोजनाको तमोर जलाशययुक्त आयोजना चिनियाँ कम्पनीलाई दिने प्रक्रिया अघि बढाएको हो । चीनको सिचुवान एनएचई हाइड्रोलिक एण्ड हाइड्रो इलेक्सन इन्जिनियरिङ नामक कम्पनीलाई यो आयोजना दिलाउन प्रधानमन्त्री केपी शर्मा ओली स्वयं लागिपरेका छन् ।

 

यो आयोजना चिनियाँ कम्पनीलाई दिइएमा प्रस्तावित तमोर चिसाङ सिँचाइ आयोजनामा असर पर्नेछ । तमोर जलाशयको पानी डाइभर्सन गरी झापा र मोरङका ३० हजार हेक्टरभन्दा बढी सिँचाइ गर्ने उद्देश्य छ । तर, यस सिँचाइ आयोजनालाई समेत असर गर्नेगरी फेरि चिनियाँ कम्पनीलाई बिनाप्रतिस्पर्धा यस आयोजना दिन लागिएको हो ।

आगामी हप्ता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन चीन भ्रमणमा जाने र यसअघि नै चिनियाँ कम्पनीलाई दिनेगरी प्रक्रिया अघि बढाइएको छ ।

बूढीगण्डकी जलाशयभन्दा तुलनात्मक रूपमा सस्तो र आकर्षक भएकाले पाँचथर, तेह्रथुम र ताप्लेजुङबासीले स्वदेशी लगानीमै निर्माण गर्नुपर्ने भन्दै माग राख्दै आएका छन् ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा तमोर चिसाङ सिँचाइ आयोजना सुरु गर्नका लागि आवश्यक बजेट छुट्याएको उल्लेख छ । तमोर जलाशयमात्र चिनियाँ कम्पनीलाई दिएपछि सिँचाइ भने आयोजना बन्नेछैन ।

प्रतिक्रिया दिनुहोस्