Logo

सम्भव छ, चीनलाई बिजुली बेच्न ?




काठमाडौं । नेपालले उत्पादन सुरु गरेको १ सय वर्षसम्म आफैंलाई पुग्ने बिजुलीसमेत उत्पादन गर्न नसकिरहेका बेला भारत, बंगलादेशपछि चीनलाई विद्युत् बिक्रीको विषयले अहिले चर्चा पाइरहेको छ ।

कुल खपतको आधारजसो बिजुली भारतबाटै किनिरहेको देशले भारत, वंगलादेश र चीनलाई हजारौं मेगावाट बिक्रीको लक्ष्य राख्नु आफैंमा आश्चर्यजनक त छ नै त्यसमाथि जटिल भौगोलिक अवस्थाका कारण चीनसँगको व्यापार सम्भव छ कि छैन भन्नेमा पनि अर्को द्विविधा छ ।

त्यसो त नेपालको चीनसँगको व्यापारघाटा कम गर्ने एउटा विकल्पका रूपमा विद्युत् निर्यातलाई पनि सम्भावनाका रूपमा हेरिएको छ । पछिल्लो समय चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत् किन्ने प्रस्ताव गरेको पनि छ ।

चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त प्राविधिक समूहको पहिलो बैठकमा चिनियाँ पक्षले १ हजार मेगावाटसम्म विद्युत् खरिद गर्ने प्रस्ताव गरेको छ ।
नेपालमा बढी विद्युत् उत्पादन हुने अर्थात् अधिकांश विद्युत् गृह शतप्रतिशत क्षमतामा सञ्चालन हुने सिजनकै बिजुली खरिद गर्न चीनले रुचि देखाएकाले यसमा नेपाली पक्ष सकारात्मक हुनैपर्छ । तिब्बतले हाल सिचुवान र कन्काइबाट विद्युत् ल्याइरहेकोमा तिब्बतका लागि १ हजार मेगावाटसम्म विद्युत् नेपालबाट ल्याउन सक्ने चिनियाँ प्रस्तावका प्राविधिक पक्षमा थप अध्ययन गरी अविलम्ब प्रक्रिया आरम्भ गर्नु जरुरी छ ।

नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाले चाँडै नै वर्षायाममा मागभन्दा बढी विद्युत् उत्पादन गर्ने अवस्था छ । यो बिजुली उपयोग गर्न विद्युतीय सवारीदेखि दैनिक घरायसी प्रयोजनमा विद्युतीय चुलो र अन्य सामग्री प्रयोग बढाउने नेपालको तयारी भरपर्दो छैन । यसैले प्राविधिक सम्भाव्यता हेरेर नेपालले यसमा गम्भीर रूपमा अघि बढ्नु आवश्यक छ ।

चीनको सिगात्सेदेखि रसुवागढीसम्मको करिब ६ सय किलोमिटर क्षेत्रमा चीनतर्फ ५ सय केभी र नेपालतर्फ ४ सय केभीको प्रसारणलाइन प्रस्ताव यसअघि नै गरिसकिएकाले यसको कार्यान्वयनबाट पनि विद्युत् व्यापारको बाटो खुल्नेछ । त्यसैले नेपालको बढ्दो व्यापार असन्तुलनको अवस्था अन्त्य गर्न पनि चीनसँग विद्युत् व्यापारको कार्य अविलम्ब अघि बढाउनु आवश्यक छ ।

अर्कोतर्फ गत आर्थिक वर्षमा चीनतर्फ २ अर्ब ४३ करोड रुपैयाँबराबरका सामग्री निर्यात गर्यो भने १ खर्ब ५९ अर्बको आयात गरेको छ । चीनतर्फ नेपालले अगरबत्ती, हस्तकला सामग्री, पस्मिना, पेपर प्रडक्ट, रुद्राक्ष, छालाका सामग्री, उलन कार्पेटलगायतका वस्तु निकासी गरिरहेको छ भने चीनबाट औद्योगिक उपकरणदेखि कच्चापदार्थसम्म तथा तयारी पोसाकदेखि खाद्यान्नसम्म आयात गर्छ ।
आयात–निर्यातको अवस्था हेर्ने हो भने गत आवमा मात्रै नेपालको निकासी ४३.३ प्रतिशतले र आयात २५.२ प्रतिशतले बढेको छ । डेढ खर्बभन्दा बढीको व्यापारघाटा भएको मुलुकमा जम्मा अढाई अर्बको सामान निकासी गरेर ४३ प्रतिशतको वृद्धि भयो भनेर मक्ख पर्ने छुट नेपाललाई छैन ।
हुन त संसारभर चीन निर्यात व्यापारमा आक्रामक राष्ट्रका रूपमा स्थापित भइसकेकाले नेपालले चीनमा निर्यात बढाएर व्यापारघाटा सन्तुलनमा ल्याउँछु भन्ने परिकल्पना मात्रै गर्नु पनि त्यति उचित नहोला, तर कम भने पक्कै गर्न सकिन्छ ।

प्रश्न फेरि पनि यही छ– यसका लागि विद्युत् व्यापार विकल्प त होला तर प्राविधिक रुपमा सम्भव छ त ?

प्रतिक्रिया दिनुहोस्