Logo

कलंकी–नागढुंगा सडकका ठेकेदार शारदा अधिकारीलाई ‘विवादास्पद’ भन्दा प्रचन्ड आक्रोशित




काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कलंकी–नागढुंगा सडक निर्माण अलपत्र छाड्ने विवादास्पद ठेकेदार शारदाप्रसाद अधिकारीको बचाउ गरेका छन् ।

बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा पत्रकार शरद केसीले शारदा अधिकारीको नाम नलिइकन उनको घरमा बस्न जानु भयो भन्ने प्रश्नको बिचैमा प्रचण्ड आक्रोशित भए ।

शैलुङ कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका नुवाकोटका अधिकारी दाहालका घरबेटी हुन् । भूमिगत कालमा माओवादीका लागि निर्माण व्यवसायीबाटै चन्दा संकलन गर्ने अधिकारी हाल पहुँचवाला ठेकेदार मानिन्छन् ।

भाडाको घर खोज्दा पनि तपाईँले एकजना विवादित निर्माणव्यवसायीको घर फेला पार्नुभयो भन्छन् नि भन्ने पत्रकार केसीको जिज्ञासामा उनले केही आक्रोशित हुँदै भने, “के विवादित ? कसरी विवादित ? के भएको छ र विवादित ?… त्यत्तिकै विवादित भन्दिने ?”

प्रचण्डले शैलुङ कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका अधिकारीको थप बचाउ गर्दै भने– कसरी विवादित ? कतै मुद्दा छ कि ?

आफूसँग सम्बन्ध भएका व्यक्तिलाई त्यसो भन्नु महारोग भएको भन्दै उनी प्रतिप्रश्न गरे, “प्रचण्डसँग सम्बन्ध भयो भन्नेबित्तिकै विवादित भन्दिने?“

अर्का विवादास्पद मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईका सम्बन्धमा भने उनी त्यति खुल्न चाहेनन् । यस विषयमा पहिल्यै धेरै बोलिसकेको भन्दै उनी पन्छिए ।

प्रतिक्रिया दिनुहोस्