Logo

शिवपुरी–नागार्जुन निकुञ्जमा ठगिँदै पर्यटक, एकै व्यक्तिको प्रवेश शुल्क ३४५ रुपैयाँसम्म !




काठमाडौं । तपाइँ काठमाडौंको व्यस्त जीवनशैली र प्रदूषणबाट मुक्त हुन एकैछिनका लागि टहलिन भन्दै आसपासका जंगलसम्म पुग्ने सोचमा हुनुहुन्छ ?

यस्तै सोचमा हुनुहुन्छ भने याद गर्नुस्, काठमाडौंको उत्तरपूर्वमा पर्ने शिवपुरी–नागार्जुन क्षेत्रमा जाँदै हुनुहुन्छ भने प्रवेश शुल्कमात्रै प्रतिव्यक्ति ३ सय ४५ रुपैयाँसम्म खर्चनु पर्नेछ ।

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा यतिबेला वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तोकेको नयाँ प्रवेश शुल्क अन्तर्गत प्रतिव्यक्ति ३ सय ४४ रुपैयाँ ६० पैसासम्म बुझाउनु पर्नेछ ।

नेपाली नागरिकका लागि प्रतिव्यक्ति प्रवेश शुल्क १ सय रुपैयाँ निर्धारण गरिएको छ । जसमा प्रतिदिन प्रवेश दस्तुर ८८ रुपैयाँ ४९ पैसा तथा मूल्य अभिवृद्धि करबापत ११ रुपैयाँ ५१ पैसा रहेको छ ।

यस्तै, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले नेपाली नागरिकबाट वन्यजन्तु क्षति राहत कोषका लागि भन्दै प्रतिव्यक्ति १८ रुपैयाँ ५० पैसा असुल गर्दछ । जसमा करको हिस्सा छुट्याइएको भने छैन ।

निकुञ्जभित्र मोटरसाइकल लिएर जान सकिने व्यवस्था पनि छ । जसअनुसार प्रतिमोटरसाइकल १ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यतिमात्र होइन मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले प्रत्येक मोटरसाइकल धनीबाट वन्यजन्तु क्षति राहत कोषका लागि भन्दै प्रतिमोटरसाइकल ७६ रुपैयाँ १० पैसा असुल गर्दछ । जसमा पनि करको हिस्सा छुट्याइएको भने छैन ।

निकुञ्ज व्यवस्थापनले महँगो शुल्क लिए पनि शुल्क अंकित नागरिक बडापत्रसमेत राखिएको छैन ।

निकुञ्जले प्रदान गर्ने टिकटमा उल्लेख भए अनुसार निकुञ्जभित्र फोहोर गर्न, आगो बाल्न, खाना पकाउन, होहल्ला गर्न, स्पीकर बजाउन, मदिरा सेवन गर्न, वनस्पतिमा क्षति पु¥याउन, घरपालुवा जनावर लैजान, शिकार खेल्न लगायतका काम निषेध गरिएको छ ।

निकुञ्जको गेटका रहेका सैनिक क्याम्पले निकुञ्ज कार्यालयको छापअंकित टिकटबिना उक्त क्षेत्रमा प्रवेश अनुमति दिँदैनन् ।

प्रतिक्रिया दिनुहोस्