Logo

ओलीको रेल सपनामा यादवको कटाक्षः भन्छन्– भारत र चीनको रेल मेरो पुस्ताले देख्न पाउँदैन !




काठमाडौं । नेपाललाई भारत र चीनको रेल सञ्जालमा जोड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणालाई उनकै क्याबिनेटका एक मन्त्रीले व्यंग्य गरेका छन् ।

 

मन्त्रिपरिषदमा तेस्रो मर्यादाक्रममा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भारत र चीनको रेल आफ्नो पुस्ताले देख्नै नपाउने बताएका हुन् । संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका यादवले भारतीय म्यागजिन द विक लाई दिएको अन्तर्वार्तामा नेपाल दुवै देशको कनेक्टिभिटी हब बन्ने सम्भावना रहे पनि आफ्नो पुस्ताले त्यो देख्न नपाउने बताएका हुन् ।

 

प्रधानमन्त्री ओलीले ५ वर्षभित्रै केरुङ र रक्सोलबाट काठमाडौंसम्म रेल आइपुग्ने दावी गरेका छन् । तर, ५७ वर्षीय उपप्रधानमन्त्री यादवले आफ्नो जीवनकालमा यो असम्भव रहेको बताएका हुन् ।

द विकसँगको अन्तर्वार्तामा यादवले भूकम्पपछि नेपालको उत्तरी छिमेकी चीनसँगको स्थल यातायातको लागि रहेको एकमात्र राजमार्गमा क्षति पुगेको र कनेक्टिभिटीका लागि नयाँ पूर्वाधार आवश्यक रहेको बताएका छन् ।

 

भारतीय प्रधानमन्त्री मोदीले काठमाडौंलाई रेल लिंकले जोड्ने प्रतिबद्धता व्यक्त गरेको र चीनले पनि ७८ किलोमिटरको रेलवे बनाउने प्रस्ताव राखेकाले नेपाल कनेक्टिभिटी हब हुनसक्ने यादवको तर्क छ । “तर, यो त्यति सहज भने हुनेछैन र मेरो पुस्ताले यो देख्न पाउने पनि छैन,” यादवले भने ।

 

एक अर्को प्रसंगमा यादवले नेपालको विदेश नीतिमा पहिले भारत र त्यसपछि लगत्तै चीन आउने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्