Logo

१ कप कफीको मूल्य १० लाख !




भेनेजुएला । भेनेजुएला सरकारले नयाँ मुद्रा सोभरजिन बोलिभर जारी गरेपछि मुद्रास्फीतिमा भारी वृद्धि भएको छ । जसअनुसार १ कप कफीका लागि त्यहाँका नागरिकले १० लाख स्थानीय मुद्रा (बोलिभर) खर्चनुपरेको छ ।

देशको विशाल परिमाणमा बढिरहेको मुद्रास्फीति नियन्त्रण गर्ने भेनेजुएलाका राष्ट्रपति निकोलास माडुरोको प्रयास असफल भएको देखाएको छ ।

भेनेजुएलमा १ कप कफीको मूल्यमा १ लाख ४९ हजार प्रतिशतको वृद्धि भएको ब्लुमबर्ग क्याफेको कन लेचे सूचकले देखाएको छ । यो वृद्धिसँगै कफीको मूल्य १० लाख बोलिभर पुगेको छ ।

एक सोभरजिन बोलिभरको मूल्य पुरानो १ बोलिभरसँग १ लाख रहेको छ । मुलुक वर्षौंदेखिको हाइपर इन्फ्लेसनबाट गुज्रिरहेको अवस्थामा दैनिक कारोबारलाई सामान्य पार्न नयाँ मुद्रा सुरु गरिएको हो । नयाँ मुद्रालाई धेरैले अवैधानिक सोचिरहेको भेनेजुएली सरकारले जारी गरेको डिजिटल मुद्रा पेट्रोसँग पनि विनिमय दिर निर्धारण गरिएको छ ।

सुरुमा यो प्रयासले सोभरजिन बोलिभरको मूल्य १ अमेरिकी डलरसँग ९५ देखि १ सय १५ कायम भएको ब्लूमबर्गले जनाएको छ । यद्यपि सोमबार प्रतिअमेरिकी डलरसँग बोलिभर २७६.५३ मा कारोबार भएको मनिटर डलरको तथ्यांकले देखाएको छ ।

विश्वकै ठूलो तेल भण्डार रहेको मुलुक चालू अवस्थाको मानवीय संकटबाट गुज्रिएसँगै भेनेजुएलाको यो संकट देखा परेको हो । भेनेजुएलाले खाद्यान्न, औषधि र अन्य आधारभूत सामग्रीको अभावको अवस्था सामना गरिरहेको छ ।

भेनेजुएलाको यो अवस्थामा ट्रम्प प्रशासनले माडुरोको शासनसँग सम्बन्ध रहेका विभिन्न व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ । यसमा माडुरोकी श्रीमती सिलिया फ्लोर्स पनि समावेश छिन् ।

ट्रेजरी विभागले सेप्टेम्बरसम्म भेनेजुएलाको समाजवादी दलका उपाध्यक्ष रहेका डायस्डाडो काबेलोको २ करोड डलर पर्ने निजी जेट पनि जफत गरेको छ ।

भेनेजुएलाको मुद्रास्फीति लगातार नियन्त्रणबाहिर रहने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले जुन महिनामा यो वर्ष भेनेजुएलाको मुद्रास्फीति १० लाख प्रतिशत पुग्ने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्