Logo

२०२० मा भ्रमण वर्ष कि पर्यटन वर्ष ? प्रधानमन्त्री नै ‘कन्फ्युज्ड’ !




काठमाडौं । सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारी भइरहे पनि मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली भने यसको नामका विषयमै अझै अलमलमा रहेको पाइएको छ ।

प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री नामक एक सरकारी कार्यक्रममा बुधबार पटकपटक २०२० मा पर्यटन वर्ष मनाउन लागिरहेको बताए ।

हुन त भ्रमण वर्ष र पर्यटन वर्ष जे नाम दिइए पनि यसको मुख्य उद्देश्य अधिकतम पर्यटक भित्र्याउनु र नेपाली पर्यटनको प्रचार प्रसार गर्नु नै हो । तर, सरकारको नीति तथा कार्यक्रम, बजेट लगायत आवधिक योजनामा समेत समेटिएको कार्यक्रमको नामसमेत बिगार्नु कार्यकारी प्रमुखका लागि शोभनीय हैन ।

भ्रमण वर्षका सम्बन्धमा कार्यक्रम सञ्चालकले कुनै प्रश्न नै नगरेको भए पनि उनले कार्यक्रमको अन्त्यमा आफैं यो प्रसंग झिकेका थिए । यतिसम्म कि उनले यसमा पनि सरकारका आलोचकहरुलाई गाली गर्न छाडेनन् ।

ओलीले भने– नेपालको पर्यटकीय सम्भाव्यतामाथि बञ्चरो चलाउनेहरुलाई पनि नेपाल पर्यटन वर्ष २०२० जवाफ हुनेछ ।
तर, नेपालको पर्यटन क्षेत्रमाथि बञ्चरो चलाउने भनेका को हुन् र उनीहरुले के गरे भन्ने उनले खुलाएनन् ।

त्रिभुवन विमानस्थल अब बुटिक एयरपोर्ट

जनतासँग प्रधानमन्त्री कार्यक्रममा जनतालाई आशा जगाउने केही बोलिदिने सञ्चालकको आग्रहमा ओलीले उत्साहित हुँदै मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाइने घोषणा गरे ।
प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षदेखि प्रस्थान कक्षसम्म नेपालको संस्कृति, भेषभुषा, खानपानलगायत झल्कनेगरी प्रदर्शन गरिने र त्यसमा आधुनिकतासँगै मौलिकता रहने दाबी गरे ।
उनले भने– तपाइँले यसलाई बुटिक एयरपोर्ट पनि भन्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्