Logo

पर्यटक आगमनमा ऐतिहासिक रेकर्ड, ११ महिनामै १० लाख नाघे




काठमाडौं । मुलुकको पर्यटन इतिहासमै पहिलोपटक पर्यटक आगमन १० लाख नाघेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१८ को जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्गबाटै १० लाख १ हजार ९ सय ३० पर्यटक नेपाल भित्रिएका छन् ।

गत वर्षको यही अवधिको तुलनामा पर्यटक संख्या १७ प्रतिशतले बढी हो । यसवर्ष पनि सबैभन्दा धेरै पर्यटक दक्षिणी छिमेकी भारतबाटै आएका छन् । भारतबाट गतवर्ष १ लाख ४४ हजार ३७९ पर्यटक आएका थिए भने यसवर्ष १ लाख ७८ हजार १३० पर्यटक आएका छन् ।

भारतपछि सबैभन्दा धेरै पर्यटक आउने दोस्रो मुलुक चीनबाट यसवर्षको ११ महिनामा १ लाख ३४ हजार ३६२ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्ष ९३ हजार ६५४ मात्रै थियो । अमेरिकाबाट पनि गत वर्षको यसअवधिमा ७३ हजार ६५० पर्यटक नेपाल आएकोमा यसवर्ष ८२ हजार ८७० पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् ।

नेपाल आउने बेलायती पर्यटक पनि बढेका छन् । गतवर्ष ५० हजार ६५२ पर्यटक नेपाल आएकोमा यसवर्ष ५७ हजार ५५५ बेलायती पर्यकटले नेपाल भ्रमण गरिसकेको बोर्डले जनाएको छ ।
जर्मनीबाट यसवर्षको हालसम्म ३४ हजार ४७९ पर्यटक नेपाल आएका छन् । गतवर्ष यस अवधिमा २८ हजार ७०२ जर्मन नागरिकले नेपाल भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्