Logo

नायिका श्वेता खड्काको ‘ड्रिम प्रोजेक्ट’ माझी बस्ती ऋणमा डुब्यो




सिन्धुपाल्चोक । नेपाली रजतपटकी चर्चित नायिका श्वेता खड्काको ड्रिम प्रोजेक्टका रुपमा लिइएको सिन्धुपाल्चोकस्थित माझी बस्ती ऋणमा डुबेका कारण पूरा हुन सकेको छैन । बस्ती निर्माण पूरा गर्ने रकम अभाव भएपछि गरिब माझीहरुको नयाँ घर सर्ने सपनासमेत पूरा हुने सकेको छैन ।

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि लामो समय तनावमा रहेकी श्वेताले समाजसेवामा हात हालेकी थिइन् । श्रेष्ठसँगको वैवाहिक जीवन तय गरेको छोटो समयमै श्वेता विधवा हुनुपरेको थियो ।

समाजसेवामा हात हालेकी श्वेताले श्रीकृष्णको गृहनगर सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माण सुरु गरेकी हुन् । आवास निर्माणका लागि आफ्नै घर धितो राखेर उनले ३० लाख रुपैयाँ ऋण लिएकी थिइन् ।

भूकम्पपीडितले पाउने सहुलियत ऋणबाट घर बनाइदिने योजना रहे पनि राष्ट्र बैंकले यस्तो कर्जा बन्द गरेपछि नयाँ बस्ती अलपत्र छ । श्वेताश्री फाउन्डेसन निकट स्रोतहरुका अनुसार बस्ती निर्माणका लागि सामग्री खरिदको ८२ लाख रुपैयाँ समेत तिर्न बाँकी छ ।

जानकारहरुका अनुसार श्वेताश्री फाउण्डेसनले निर्माण गरिरहेको यो बस्ती फाउण्डेसनको लगानीबाहेक नै १ करोड १२ लाख रुपैयाँ हाराहारी ऋणमा परेको छ ।

सहुलियत ऋण नपाउने भएपछि बस्ती निर्माण कसरी सम्पन्न गर्ने भन्नेमा खड्कासमेत अन्योलमा रहेको सिन्धुपाल्चोकका पत्रकार किशोर बुढाथोकीले कारोबार दैनिकमा लेखेको समाचारमा उल्लेख छ ।

फाउण्डेसनको अगुवाईमा झ्याडी टोल सुधार समितिले एकीकृत बस्ती निर्माण गरिरहेको छ । निर्माणाधीन ५६ घरमध्ये पाँच वटाको गाह्रो र ६ घरको छाना छाउने काम अन्तिम चरणमा पुगेको छ । २८ रोपनी जग्गा ओगट्ने क्षेत्रमध्ये २० रोपनीमा आवास निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्