Logo

मदिरा निर्देशिकाबारे प्रधानमन्त्रीः मन्दिरको पूजारी भएर ठसठसी गन्हाउन पाइन्छ ?




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याउन लागेको मदिरा सेवन तथा बिक्रीसम्बन्धी निर्देशिकाको बचाउ गरेका छन् ।

नयाँ निर्देशिकाले नेपाल भ्रमण वर्ष २०२० नै प्रभावित हुने भन्दै निजी क्षेत्रले आपत्ति जनाइरहेका बेला प्रधानमन्त्रीले भने वास्तविकता छोपेर अफवाह फैलाइएको आरोप लगाए ।

जनतासँग प्रधानमन्त्री नामक टेलिभिजन कार्यक्रममा उनले भ्रमण वर्ष असफल बनाउन यस्तो प्रचार चलाइएको दाबी गरे । उनले भने– आज नेपालमा मदिरा सेवन गर्न पाइँदैन भनेर विदेशमा समेत प्रचार भइरहेको छ, भोलि मासु खान पाइँदैन भनिएला, पर्सी सब्जिसमेत खान पाइँदैन भन्न बेर छैन । त्यसैले हामीले बेलैमा यस्ता अफवाह चिर्नुपर्छ ।

प्रधानमन्त्रीले नयाँ कानुन निर्माणको चरणमा रहेकाले मदिराका क्षेत्रमा पनि सुधारको खाँचो देखिएको भने स्वीकार गरे । उनले भने– यसका पनि केही आचारसंहिता त होलान् नी, पूजारी भएर मन्दिरमा ठसठसी गन्हाउँदै बस्न पाइन्छ र ?

प्रधानमन्त्रीले थपे– संसारका कुनै पनि मुलुकमा मदिरा सेवन गरेर सवारी चलाउन पाइँदैन । नेपालमा पाउनुपर्छ भनेर माग गर्न सुहाउँदैन ।

यस्तै, प्रधानमन्त्री ओलीले मदिरासम्बन्धी नयाँ व्यवस्था छलफलकै चरणमा रहेको र पारित भएर लागू नभइसकेको अवस्थामा यसको विरोध गर्नुको कुनै अर्थ नरहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्