Logo

यस्तो पो नगरपालिका ! कृषि ऋणको ब्याजमा ५० % अनुदान दिँदै मुसिकोट




गुल्मी । देशभरका स्थानीय तहले कर आतंक मच्चाइरहेको भन्दै आलोचना भइरहेका बेला गुल्मीको एक नगरपालिका भने जनमुखी कामका कारण वाहवाही पाइरहेको छ ।

यसरी देशैभर सर्वसाधारणको प्रशंशा पाउने नगरपालिका हो– गुल्मीको मुसिकोट । यो नगरपालिका चर्चामा आउनुको कारण भने कृषि उद्यमलाई गरेको प्रोत्साहन नै हो ।

मुसिकोट नगरपालिकाले कृषि पेशा संकटमा नपरोस् भन्नका लागि कृषि ऋणमा ५० प्रतिशत अनुदान दिने भएको छ । नगरपालिकाभित्रका कृषकलाई व्यवसाय लागत कम गर्न ब्याजमा अनुदानको व्यवस्था गरिएको हो ।

नगरपालिका प्रमुख सोमनाथ सापकोटाका अनुसार चालू आर्थिक वर्षमा कृषकलाई करिब ४ करोड रुपैयाँ बराबरको ऋण प्रवाह गर्ने योजना छ । ४ करोड बराबरको ऋण प्रवाह गर्दा नगरपालिकाले यस आर्थिक वर्षमा २५ लाख रुपैयाँ बराबरको ब्याज बंैकहरूलाई तिर्नेछ ।

व्यावसायिक रूपमा कृषि तथा पशुपालन गर्न चाहने किसानलाई लगानीको कमी हुन नदिन यो कार्यक्रम ल्याइएको नगरप्रमुख सापकोटा बताउँछन् ।

बंैकले अधिकतम १४ प्रतिशतमा ऋण प्रवाह गर्नेछ भने यसका प्रतिकृषक ३ लाखदेखि १० लाखसम्म ऋण पाउनेछन् । शाइन रेसुंगा डेभलपमेन्ट बंैक र ग्लोबल आइएमई बंैकसँग नगरपालिकाले यस्तो ऋणका लागि सम्झौता गर्दैछ ।

हाल गाँउघरमा सयकडा २ अर्थात वार्षिक २४ प्रतिशत ब्याजदर चलनचल्तीमा छ । अब भने वार्षिक ब्याज ७ रुपैयाँमात्र तिरे पुग्छ ।

प्रतिक्रिया दिनुहोस्