Logo

टुरिजम् भर्सेस हाइड्रोपावर: धरानमा कोसी कोरिडोर कि विमानस्थल र प्याराग्लाइडिङ ?




काठमाडौं । नेपालका लागि जलविद्युत् परियोजना ठूलो कि पर्यटन विकास भन्ने प्रश्न बेलाबखत उठ्ने गरेको छ । मध्यभोटेकोसी जलविद्युत् आयोजना बनाउँदा हिमालयन ह्वाइट वाटर र्याफ्टिङको आकर्षण नै समाप्त पारिएसँगै यो विषय निकै पेचिलो बनेको हो ।

हाल पूर्वी नेपालको समृद्ध सहर धरानमा पनि यस्तै अवस्था देखिएको छ । धरान उपमहानगरपालिका पर्यटन प्रबद्र्धनका लागि विमानस्थल, प्याराग्लाइडिङलगायतका पूर्वाधार निर्माणको तयारीमा रहँदा उसले कोसी कोरिडोर प्रशारण लाइन नै रोक्ने भएको छ ।

नगरपालिकाको यस्तो कदमको जलविद्युत् क्षेत्रमा आलोचना भए पनि यसले स्थानीयवासीको भने साथ पाएको छ । प्रशारणलाइन बन्दा सीमित स्थानीयले एकपटक मात्र मुआब्जा पाउने भए पनि पर्यटन पूर्वाधार बने सबै स्थानीयले लामो समयसम्म आफ्नो क्षेत्रमा पर्यटकीय गतिविधिको लाभ पाउनेछन् ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको २२० केभीको कोसी कोरिडोर प्रशारण लाइनकाृ एक खन्ड चिन्डेडाँडा धरान उपमहानगरको वडा नं. २० मा पर्छ । यसअघि भोक्राहा, इनरुवा, बराहा, रामधुनी र धरान उपमहानगरपालिकाले निर्माण गर्ने प्रसारण लाइनको टावर फाउण्डेसनका लागि जग्गा अधिग्रहण र निर्धारणको निर्णय भए पनि उपमहानगर अहिले ब्याक भएको छ ।

उपमहानगरले रुट परिवर्तनका लागि पत्र लेखेपछि राष्ट्रिय प्राथमिकताप्राप्त कोसी कोरिडोर प्रसारण लाइन आयोजना अलपत्र पर्ने अवस्थामा पुगेको छ ।

धरान उपमहानगरपालिकाले भने प्रशारण लाइन निर्माण गरेमा यसबाट यहाँ पर्यटकीय क्षेत्रमा ठूलो असर पुग्ने दाबी गरेको छ । विमानस्थल, प्याराग्लाइडिङलगायतलाई लक्षित गरी बनाएको पर्यटनसम्बन्धी गुरुयोजनालाई असर पर्छ भनेर यस्तो पत्र लेखिएको उपमहानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्