Logo

अन्ततः प्रदेशबाटै सवारीसाधन दर्ता, विद्युतीय गाडी पहिलो नम्बरमा !




हेटौंडा । लामो गृहकार्यपछि अन्ततः प्रदेश तहबाटै सवारीसाधन दर्ता सुरु भएको छ । प्रदेश ३ ले पहिलोपटक सवारीसाधान दर्ता गरेको हो ।

यसअघि काठमाडौंबाट मोटरसाइकल दर्ता सुरु गरिए पनि संघीय सरकारको सहजीकरणमा मात्र यो काम भएकाले प्रदेश सरकारले अपनत्व लिन सकेको थिएन ।

पहिलो नम्बरमा दर्ता हुनेमा भने बिवाईडी कम्पनीको विद्युतीय गाडी रहेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले प्रयोग गर्ने यो गाडीको दर्ता नं. प्रदेश ३–०३–००१–झ–०००१ रहेको छ ।

संघीयता कार्यान्वयनपछि पहिलोपटक प्रदेश संरचनाअनुसार सवारी दर्ता सुरु भएसँगै अब अन्य प्रदेशमा पनि यो अभ्यास सुरु हुनेछ । प्रदेश नम्बर ३ मा भने यातायात व्यवस्था तथा सेवा कार्यालय, हेटौंडाले बुधबारबाट सेवा सुरु गरेको हो ।

प्रदेश तहमा यातायात व्यवस्था सेवा कार्यालय मोटरसाइकल काठमाडौंले यसअघि नै मोटरसाइकल दर्ता भने सुरु गरिसकेको भए पनि हेटौंडा कार्यालयले नयाँ व्यवस्थाअनुसार पहिलो पटक मोटरसाइकल तथा अन्य किसिमका सवारी पनि दर्ता गर्न सुरु गरेको हो ।

३ नम्बर प्रदेशअन्तर्गत रहेका १० वटा यातायात कार्यालयमध्ये काठमाडौं उपत्यकाभित्र रहेका ४ वटा कार्यालयले सवारी अनुमतिपत्र जारी गर्नुका साथै पुरानै प्रक्रियाबाट सवारी दर्ता गराइरहेका छन् ।

काठमाडौंबाहिर पहिलो पटक हेटौंडा कार्यालयले अनुमतिपत्र नवीकरण, नयाँ अनुमतिपत्र वितरणका साथै नयाँ संरचनाअनुसार सवारी दर्ता गर्नेछ ।

रुट इजाजत, पटके सेवा, सवारी अनुमतिपत्र प्रदान तथा नवीकरण गर्ने काम पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्