Logo

निगमको मासिक नाफै २ अर्ब ३२ करोड, किन बढाइयो पेट्रोल र डिजेलको भाउ ?




काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य स्थिरजस्तै रहे पनि नेपाल आयल निगमले भने पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ । निगमले तीनैथरी इन्धनमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको हो ।

तर, अचम्म त के छ भने निगमले यो मूल्यवृद्धिपछि मासिक २ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाउनेछ । हाल निगमलाई एलपी ग्यासबाहेक अन्य इन्धनमा कुनै घाटा छैन ।

निगमलाई ग्यासमा भने प्रतिसिलिण्डर ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको जनाइएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजल र मट्टीतेल प्रतिलिटर ९७ कायम भएको छ ।

मूल्य समायोजनसँगै निगमलाई समग्रमा १५ दिनमा १ अर्ब १६ करोड नाफा हुने निगमका अधिकारीहले जनाएका छन् ।

यद्यपि, आइओसीले शुक्रबार १५ दिनअघिको मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ २५ पैसा र डिजेलमा चार रुपैयाँ २८ पैसा बढाएर नयाँ निगमलाई मूल्यसूची पठाएको र सोही आधारमा निगमले नेपालमा पनि इन्धनको मूल्यवृद्धि गरेको जनाइएको छ ।

निगमले अझै पनि १ अर्ब ६ करोड सञ्चित नोक्सानी रहेको भन्दै भाउ बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्