Logo

चिनीको बजार मूल्यमा सरकारको हस्तक्षेप, साल्ट ट्रेडिङले २० हजार टन ल्याउँदै




काठमाडौं । सरकारलाई प्रभावमा पार्दै चिनी आयात रोक्न सफल उद्योगीहरुले दसैं तिहार र छठको बेला अचाक्ली मूल्य बढाए । स्वदेशी उद्योगको संरक्षणका लागि भन्दै चाडबाडको मुखमा चिनी आयात रोक्ने सरकारको निर्णय अन्ततः उसैका लागि प्रत्युत्पादक भयो ।

चिनीको भन्सार दर १५ प्रतिशतबाट दोब्बर बनाउँदै ३० प्रतिशत पु¥याउने र त्यतिले पनि नपुगेर आयातमै प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि स्वदेशी उद्योगको एकाधिकार भएर मूल्य झन्डै १ सय रुपैयाँ प्रतिकिलोसम्म पुग्ने अवस्था आइसकेको छ ।

तर, बजारमा चिनीको मूल्य बढीरहेका बेला बजार हस्तक्षेप गर्न सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनले २० हजार टन चिनी खरिद गर्ने भएको छ ।

बजार मूल्य नियन्त्रण गर्न स्वदेशी उद्योगसँग चिनी खरिद गर्न कर्पाेरेसनले टेन्डर आह्वान गरेको हो । बजारमा चिनीको मूल्य प्रतिकेजी ८० देखि ९० रुपैयाँ छ ।

बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न कर्पाेरेसनले प्रत्येक वर्ष स्वदेश र विदेशबाट चिनी खरिद गर्दै आएको थियो । यो वर्ष पनि कर्पाेरेसनले चिनी खरिद गर्न टेन्डर आह्वान गरेको हो ।

उद्योगीले बजारमा चिनीमा अस्वाभाविक मूल्य बढाएपछि त्यसलाई नियन्त्रण गर्न कर्पोरेसनले २० हजार टन खरिद गर्ने प्रक्रिया अगाडि बढाएको हो । गत वर्ष कर्पाेरेसनले विदेशबाट चिनी आयात गरेको थियो ।

चिनीको लागत मूल्य बढेको भन्दै उद्योगीले मूल्य बढाउन प्रस्ताव गरेका छन् । नेपाल चिनी उद्योग संघले कारखाना मूल्य ७८ रुपैयाँ १० पैसा हुने गरी मूल्य बढाउन प्रस्ताव गरेको छ ।

मुलुकमा १ लाख २० हजार टन चिनी उत्पादन हुने गर्छ । स्थानीय उत्पादनले ४० प्रतिशत माग धान्ने र बाँकी ६० प्रतिशत बाहिरबाट आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्