Logo

राष्ट्रपतिले व्यापारीलाई भनिन्– स्वच्छ र पारदर्शी व्यवसाय गर्नुस्




काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ र पारदर्शी व्यवसायको निम्ति निजी क्षेत्रलाई आह्वान गरेकी छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा आइतबार राष्ट्रपति भवन शितालनिवासमा गएको व्यापारिक प्र्रतिनिधिमण्डलसँंग उनले त्यसका लागि सबैले आआफ्नो क्षेत्रबाट इमान्दारिता र पारदर्शिता निर्वाह गर्नुपर्ने बताइन् ।

हरेक क्षेत्रमा सञ्चालन गरिएका व्यापार व्यवसायहरूमा पारदर्शिता र स्वच्छताको आवश्यकता रहेको उनले औंल्याइन् । तत्काल आयात गर्नैपर्ने वस्तुहरूको आयातको बिकल्प नहोला तर हरेक दिन चुल्होमा पाक्ने सामान्य चिजहरू पनि आयात नै गरिरहने हो भने समृद्धिको सपना अधुरै रहने सम्भावनातर्फ पनि उनले सचेत रहन आग्रह गरिन् ।

परिवारको आर्थिक समस्या समाधान गर्ने एउटा उद्देश्य राखेर विदेश पलायन हुँंदा त्यसले कैयौं समस्या खडा गरेकोले यो समस्या हल नगरिकन ब्यापार व्यवसाय अघि नबढ्ने उनको विचार थियो । त्यसकारण यसको अन्त्य गर्न निजी क्षेत्र र सरकारसंगै मिलेर अघि बढ्नुपर्ने बताउँदै उनले नेपालको ब्यापार व्यवसायको बृद्धि गर्न निजी व्यवसायीले नीति विज्ञको रुपमा भूमिका निर्बाह गरी सरकारलाई उचित सुझाव दिन जरुरी रहेको बताइन् ।

त्यसअघि नेपाल चेम्बर अध्यक्ष श्रेष्ठले नेपाल चेम्बरसँंग आवद्ध देशैभरिका निजी व्यवसायीहरूकोतर्फबाट राष्ट्रपतिको दोस्रो कार्यकाल गौरवमय रुपमा सफल रहोस भनी शुभकामना व्यक्त गर्र्दै धेरै बर्षपछि नेपालमा स्थिर सरकार निर्माण भएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्यापार व्यवसायमा वर्तमान सरकार सम्बेदनशील देखिएकोले आशाका किरण देखापरेको बताए ।

श्रेष्ठले नेपालमा बलियो सरकार निर्माण भएपछिको देशको समृद्दिको सपना पुरा गर्ने आधार भनेको अब निर्यात प्रबद्र्धन र विदेशी लगानी भित्राउने आर्थिक कुटनीति नै हो भन्दै यसमा निजी क्षेत्र, सरकार र अन्य साझेदारहरू नजिकको सहकार्यमा रहेर काम गर्न जरुरी रहेको बताए ।
विशेष गरिकन भारतसँंगको ब्यापार घाटा कम गर्न र चीनसँगको ब्यापार प्रबर्दन गर्न देशले आर्थिक कुटनीतिको नमुना तयार गरेर अघि बढ्न सके फलदायी हुने उनको भनाई थियो । निजी ब्यवसायले देशको बेरोजगारी समस्या समाधान गर्न अहम भूमिका पनि खेल्न सक्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्