Logo

मोदी ३ पटक आउँदा पनि सुल्झन नसकेका यी ५ आर्थिक समस्या




काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई मुलुकबीचको कुटनीतिक सम्बन्ध बलियो बनाए पनि नेपाली जनतालाई यसबाट तत्काल कुनै लाभ हुने भने देखिँदैन ।

भारतसँग तीन तिरबाट सीमा जोडिएको नेपाल आर्थिक रुपमा पनि भारतसँगै निर्भर छ । कुल वैदेशिक व्यापारको दुई तिहाईभन्दा बढी हिस्सा भारतसँगै रहेको नेपालका लागि तेस्रो मुलुकबाट सामान ल्याउन र निकासी गर्न पनि भारतकै भूमी र बन्दरगाह प्रयोग गर्नुपर्छ ।
तर, नेपालका लागि भारत जति महत्वपूर्ण छ भारतका लागि भने नेपाल त्यति प्राथमिकतामा पर्न सकेको देखिँदैन । प्रधानमन्त्री भएयता मोदीले मात्र तीन पटक भ्रमण गरिसके पनि दुई देशबीचका समस्या दशकौंदेखि ज्यूँ का त्यूँ छन् ।

१. क्वारेन्टाइन झमेला
नेपालमा उत्पादन हुने कृषिजन्य वस्तुको प्रमुख बजार भारत नै भए पनि उसले निकासीमा कुनै न कुनै बखेडा झिक्ने गरेको छ । मूलतः नेपाली उत्पादनलाई क्वारेन्टाइन चेकजाँचका नाममा सीमामै रोक्ने भारतीयहरुको प्रवृत्तिसँग नेपाली किसान आजित भइसकेका छन् । कहिले चियामा त कहिले अदुवा र अलैंचीमा गुणस्तर नपुगेको भन्दै सीमामै हीतौंसम्म रोकेर कुहिने बेलासम्म निकासीको अनुमति दिइँदैन । क्वारेन्टाइन कार्यलयले कोलकाता जाँच चौकीमा पुर्याउनुपर्ने झन्झटिलो व्यवस्था नेपाली उत्पादन रोक्नकै लागि गरिएको बताइन्छ । यसको ठिक विपरित भारतबाट कुखुराको अण्डा,चल्ला र मासुबाहेक कुनै पनि भारतीय उत्पादन सहजै नेपाली बजारमा प्रवेश गर्न सक्छन् ।

२. हवाई रुटमा सँधै आलटाल
नेपालले निर्माण गर्न लागेको निजगढ विमानस्थल र निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भारतीय सीमानजिक पर्दछन् भने यसको लाभ सीमावर्ती भारतीय नागरिकले पनि लिन सक्छन् । यी विमानस्थलबाट उडान र अवतरण गर्दा भारतीय आकाशमा जहाज केहीबेर पुग्नसक्छ । त्यसका लागि हरेकपटक भारतसँग अनुमति लिएर दस्तुर बुझाउनुपर्छ । यससम्बन्धी हवाई सम्झौता गरेमा पटकपटक अनुमति लिइरहनु पर्दैन । तर, भारतले वर्षौंदेखि नेपालाई सँधै यसमा झुलाइरहेको छ । भारतले सम्झौता गर्दिन पनि भन्दैन र गर्न पनि चाहाँदैन । यस्तै नेपालाई हाल सिमरा हुँदै प्रवेश गर्ने एकमात्र रुट दिएको भारतले नेपालगन्ज हुँदै अवतरण गर्ने रुटसमेत दिन चाहिरहेको छैन ।

३. ग्यास बुलेटलाई अनुमति दिइएन
नेपाल भित्रने एलपी ग्यास नेपाली बुलेटमार्फत ल्याउने सरकारी प्रयाशमा भारत बाधक बनेको छ । भारतीय मापदण्डअनुसार भारतमै बनेका ति बुलेटलाई भारतको भूमिभित्र गुड्न दिन एक्स्प्लोसिभ सर्टिफिकेट दिनुपर्छ । तर, भारतले २ वर्षदेखि यस्तो सर्टिफिकेट नदिँदा नेपाली लगानीका ति बुलेट भारतमै अलपत्र परेका छन् र भारतीय बुलेटमार्फत ग्यास आयात भइरहेको छ ।

४. आकर्षक आयोजना होल्ड
नेपालका ठूला र आकर्षक आयोजना भारतीय लगानीकर्ताले होल्ड गरिरहेका छन् । सरकारी स्तरमा कुरो नमिलेका कारण पञ्चेश्वर बन्न सकेको छैन । यसमा भारतले महाकालीको पानी एकलौटी उपयोग गर्न पाइरहेकाले जतिसक्यो लम्ब्याउने उसको दाउ देखिन्छ भने माथिल्लो कर्णालीलगायतका ठूला आयोजनामा विदेशी लगानी रोक्ने र आफूले अलमल्याएर राख्ने भारतीय नीति नै देखिन्छ । यस्तो अवस्था छ कि भारतलाई खुसी नपारी तेस्रो मुलुकका लगानीकर्तासमेत नेपाल आउनसक्ने अवस्था छैन ।

५. ठूला आयोजनामा बक्रदृष्टि
नेपालमा बन्ने अधिकांश ठूला आयोजनामा भारतले कुनै न कुनै प्रकारको चासो राखिरहेको हुन्छ । पूर्वी नेपाल जोड्ने बीपी राजमार्ग भारतीय स्वार्थकै कारण साँघुरो सडकमात्र बन्नसक्यो भने फाष्ट ट्रयाकदेखि मध्यपहाडी लोकमार्गसम्ममा भारतको अनावश्यक चासो देखिन्छ र कारण देखाइन्छ– सुरक्षा । यहाँसम्म कि माइतीघर तीनकुने सडकमा बिचमा ठूला डिभाइडरसमेत भारतकै दबाबका कारण राखिएको इन्जिनियरहरु बताउँछन् । डिभाइडर नभएको अवस्थामा चिनियाँ फाइटर प्लेन सहजै अवतरण गर्नसक्ने उसमा मनोवैज्ञानिक त्रास देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्