Logo

Banner-news

समाचार टिप्पणीः सेयर बजारमा यत्तिको गिरावट अपेक्षित थिएन र ?


GDP Nepal
   ३१ बैशाख २०७७, बुधबार


काठमाडौं । लगानीकर्ताको चर्को दबाबपछि मंगलबार पूर्वतयारी सहित खुलेको सेयर बजारको ओपनिङ भने त्यति सुखद् रहेन । डेढ महिनापछि खुलेको सेयर बजारको पहिलो दिन के होला भन्ने धेरैको चासो रहे पनि अधिकांश लगानीकर्ता तथा सरोकारवालाहरु भने बजारले ओरालो यात्रा सुरु गर्छ भन्नेमा थिए ।

नयाँ नियमअनुसार दुई घन्टाका लागि मात्र खुलेको बजार परिसूचक २ प्रतिशतले घटबढ भएलगत्तै बन्द गर्ने व्यवस्थाअनुसार २.०२ प्रतिशतले घटेपछि बन्द पनि गरियो । कोरोना संकट सुरु भएयता विश्वभर सेयर बजारमा भारी गिरावट आइरहेको छ । नेपाल पनि यो बेला उल्टो बाटो हिँड्नसक्ने अवस्थ पक्कै थिएन ।

डेढ महिनाअघि नै बजार दुर्घटनामा पर्नसक्थ्यो र त्यतिबेला नियामक निकायले बुद्धिमत्तापूर्ण निर्णयले बजार बन्द गर्दा अहिलेसम्म पहिरो जानबाट रोकिएको छ । अनलाइन ट्रेडिङका लागि पर्याप्त पूर्वाधार नहुनु र यसै कारण कारोबार पनि रोकिनु नेपाली लगानीकर्ताका लागि बरदान नै बन्यो ।

त्यसो त पुँजी बजारलाई अर्थतन्त्रको ऐना भनिन्छ । नेपालमा यो अर्थतन्त्रको ऐना बन्न नसके पनि वित्तीय क्षेत्रको ऐना भने पक्कै हो । अहिलेको संकटको असर वित्तीय क्षेत्रमा पनि परिरहेको र यो क्षेत्र रियल सेक्टरको समेत निशानामा रहेको अवस्था छ । त्यसैले पनि मंगलबारको कारोबारमा आएको गिरावटलाई अस्वाभाविक रूपमा लिनुपर्ने अवस्था छैन ।

कोरोना र लकडाउनले अर्थतन्त्र संकटमा परेको र बैंक तथा वित्तीय क्षेत्रमा पनि त्यसको प्रत्यक्ष असर देखिसकेको अवस्थामा सेयर बजार बढ्नुपर्ने कुनै कारण थिएन र यसले पहिलो दिनको कारोबारमा स्वाभाविक लय लिएको भन्न सकिन्छ ।

बैंकहरूको मुख्य आम्दानीको स्रोत मानिएको ब्याज संकलन तीन महिनादेखि ठप्प रहेको र अझै ६ महिनासम्म ठप्प नै रहने बैंकरहरूको आकलनका आधारमा पनि यस क्षेत्र अझै ठूलो नोक्सानीमा जाने देखिन्छ र निश्चय पनि यसको असर सेयर बजारमा देखिन्छ ।

त्यसो त सेयर बजारको यस्तो सम्भावित गिरावटबारे नियामक पनि पक्कै जानकार थिए र सोही कारण नीतिगत हेरफेरसमेत गरिएको थियो । लकडाउनका कारण अर्थतन्त्रमा समस्या परेकाले सेयर बजार तीव्र गतिले घट्ने अनुमान गर्दै २ प्रतिशतभन्दा बढीले तलमाथि भए किनबेच बन्द गर्ने निर्णय भएकाले ठूलो अंकको गिरावटबाट बजार जोखिएको हो । दुई घण्टाका लागिमात्र बजार खोलियो र पूरा अवधि कारोबार हुनसमेत पाएन ।

सेयर बजार मूलतः अर्थतन्त्रको गतिसँग लय मिलाएरै अघि बढेको हुन्छ । तर अहिले विश्व नै कोरोना भाइरस कोभिड–१९ को महामारीमा परिरहेका बेला यसको प्रभाव नेपालमा पनि परेको छ । नेपालमा पनि कोरोनाको संक्रमित देखा परेपछि लकडाउन सुरु भएको ५० औं दिनसम्ममा १९१ जना संक्रमित फेला परिसकेका छन् र जसमध्ये ५७ जना त मंगलबारमात्रै फेला परेका हुन् ।

यसै पनि राजनीतिक घटनाक्रमले प्रभावित हुने सेयर बजारमा अर्थतन्त्र र लगानीकर्ताको मनोविज्ञानसँग प्रत्यक्ष जोडिएको कोरोनाभाइरसको प्रभाव पर्नु अस्वाभाविक होइन । यसको प्रभाव सेयर बजारमा पनि प¥यो ।

अर्थतन्त्रका बहुक्षेत्रमा कोभिड–१९को असर देखिएकाले सरकारको सहयोग अपेक्षित छ । अर्थतन्त्रलाई चलायमान बनाउनका लागि राज्यले ठूलो रकम लगानी गर्नुपर्ने अवस्था छ भने नीतिगत क्षेत्रमा पनि आमूल रूपान्तरणको जरुरी देखिन्छ । यस्तो बेलामा विगतजस्तो वित्तीय क्षेत्रको एकांकी वृद्धिभन्दा अर्थतन्त्रका सबै अवयवहरूको समानुपातिक वृद्धिका लागि नीतिहरू केन्द्रित हुनु आवश्यक छ ।

रोजगारीको अवसर सिर्जना गर्ने तथा कुल गार्हस्थ्य उत्पादनमा अधिकतम योगदान गर्ने क्षेत्रहरू जस्तै, कृषि, साना मझौला व्यवसायलगायतमा सरकारी लगानी आवश्यक रहेकाले सरकारले पुँजी बजारको वृद्धिका लागि पर्याप्त ध्यान नदिन पनि सक्छ । तर, लगानीका लागि पुँजी सिर्जना गर्नसक्ने साधन पनि भएकाले यस क्षेत्रलाई उपेक्षा गर्न भने मिल्दैन ।

यसर्थ, बजारको ओरालो यात्रालाई कुनै न कुनै विन्दुमा रोक्नैपर्छ र यसलाई आर्थिक विकासको साधन बन्नेगरी रूपान्तरण गरिनुपर्छ ।

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह