Logo

Banner-news

पेश्की फिर्ता र जमानत जफत गर्ने सरकारको पत्रले निर्माण व्यवसायी आतंकित


GDP Nepal
   १ असार २०७७, सोमबार


काठमाडौं । लकडाउनका कारण अधिकांश विकास निर्माणका कार्यहरु ठप्प रहेको अवस्थामा विभिन्न निकायहरुले म्याद समाप्त भएका निर्माण कार्यहरुको पेश्की वापतको रकम फिर्ता र बैङ्क जमानत जफत गर्नका लागि पत्राचार गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

राष्ट्रिय विपत्तिको यस घडीमा विभिन्न चुनौतिहरुलाई झेल्दै भौतिक पूर्वाधारको विकासमा प्रतिबद्ध निर्माण व्यवसायीहरुलाई पेशाबाटै पलायन हुने गरी भइरहेका यस्ता गतिविधि तत्काल रोक्नु पर्ने महासंघको माग छ ।

राज्यका संयन्त्रहरुबीचको समन्वयको अभावका कारण व्यवसायीहरुका लागि पीडादायी अवस्था सिर्जना हुन पुगेको महासंघका महासचिव रोशन दाहालद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड—१९ का कारण २०७६ साल चैत महिनाबाट निर्माण कार्यहरु हुन नसकेको र २०७७ सालको आउँदो कात्तिकसम्म काबु बाहिरको परिस्थिति सृजना भई विकास निर्माणका कार्यहरु सम्पन्न हुन नसक्ने यथार्थ अवस्था यसअघि नै महासंघले पटक–पटक जानकारी गराएको विज्ञप्तिमा उल्ल्ेख छ ।

यस अवस्थामा २०७६ चैत्रबाट २०७७ कार्तिक सम्म कोभिड—१९ का कारण विकास निर्माणका कार्य हुन नसकेको समयावधिलाई सार्वजनिक खरिद ऐनले माहामारीलाई (हालको कोभिड १९) काबु बाहिरको विषम परिस्थिति परिभाषित गरेको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै सम्मानित सर्वोच्च अदालतले समेत बन्दाबन्दीको अवधिलाई शुन्य समय भनी फैसला गरेको हुँदा सम्पूर्ण परियोजना एवं ठेक्काहरुको म्याद स्वतः ८ महिना एकमुष्ठ थप हुने गरी नेपाल सरकारबाट नीतिगत निर्णय गर्न महासंघले जोडदार माग गरेको छ ।

“निर्माणाधिन आयोजनाहरुको सार्वजनिक खरिद नियमावलीको आठौं र नवौं संशोधन अनुसार म्याद थप भई हाल कोभिडको बीचमा निर्माण व्यवसायीको कारणले नभई महामारीको कारणले सो को म्याद समाप्त भई भुक्तानी हुन बाँकी रहेको हुदाँ त्यस्ता निर्माण कार्यहरुको पुनः एकमुष्ठ म्याद थप गरी यथाशिघ्र भुक्तानीको व्यवस्था गरिनु पर्दछ” विज्ञप्तिमा अगाडि भनिएको छ ।

यसरी समयमा भुक्तानी भएमा बजारमा रहेको नगद तरलता कम भई अर्थतन्त्र चलायमान हुने समेत महासंघले जनाएको छ ।

प्रकाशित : १ असार २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह