Logo

अप्रेसन गृहमन्त्रीः ‘पपुलिजम्’को नशा, परिणाम शून्य




काठमाडौं । पछिल्लो समय सरकारका मन्त्रीहरुबीच सस्तो लोकप्रियता (पपुलिजम)को ‘रोग’जस्तै लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा रहेका एकाधबाहेक अधिकांश मन्त्रीहरुलाई पपुलिष्ट बन्ने नशा लागेको छ । यसमध्ये सबैभन्दा अगाडि छन्– गृहमन्त्री रामबहादुर थापा ।


कुनै समय प्रचन्डलाई सार्वजनिक रुपमै भारतीय दलाल भन्दै पार्टीबाट छुट्टिएका थापाले गृह मन्त्रालयको नेतृत्व सम्हालेको सय दिनमा आफ्नो मन्त्रालयले गर्नुपर्ने कुनै राम्रा काम गर्न सकेका छैनन् । तर, उनी हिजोआज ठेक्कापट्टाको काम समयमै पूरा नगर्ने ठेकेदार पक्राउ गरेर वाहवाही बटुल्ने प्रयाशमा छन् ।

गृहमन्त्री थापाले सिन्डिकेट अन्त्यका लागि यातायात मन्त्री रघुवीर महासेठको रुचिविपरित प्रहरी परिचालन गरेर वाहवाही त कमाए । तर, त्यसलगत्तै सबै क्षेत्रको सिन्डिकेटमाथि प्रहार गर्ने नाउँमा ठेकेदारमाथि कारवाहीको डन्डा बर्साए । जबकि ठेक्का दिने सडक विभागले सम्झौता रद्द गर्ने र जरिवाना तिराउने विकल्प बाँकी हुँदाहुँदै कारवाही गर्नु प्राकृतिक न्यायको सिद्दान्तविपरित रहेको बताउँदै आएको छ ।

अघिल्लोपटक रक्षा मन्त्रालय सम्हाल्दा शून्य परफरमेन्स देखाएका थापा सस्तो लोकप्रियताको लोभमा अघि बढ्दा मुलुकको सबैभन्दा बढी यात्रुले सास्ती पाएको कलंकी–नागढुंगा सडकको ठेकेदारलाई भने आफैं सलाम गर्नुपर्ने बिडम्बनापूर्ण अवस्थामा छन् ।

कलंकी–नागढुंगा सडकका ठेकेदार शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी उनकै पार्टी अध्यक्ष पुष्पकमल दाहालका घरभेटी मात्र होइनन्, वाम एकताका देखिने सहजकर्तामध्येका एक पनि हुन् ।

दाहाल र केपी ओलीबीच सम्बन्ध चिसिँदा अधिकारीले आफ्नै घरमा लञ्च मिटिङ राखेको तस्बिर अझै पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अधिकारीलाई नेकपा अध्यक्ष दाहालकै दवावमा कारवाही हुन नसकेको आइतबार संसदमा सांसद प्रेम सुवालले आरोप लगाए पनि त्यसको खण्डन कतैबाट हुन सकेको छैन ।

नेपालबाट भारततर्फ ठूलो परिमाणमा पेट्रोलियम तस्करी भइरहेको भन्दै नेपाल आयल निगमले गुनासो गरिरहे पनि त्यसलाई रोक्न गृह प्रशासन असफलजस्तै देखिएको छ । आफ्नै मन्त्रालयको कार्यक्षेत्रमा गृहमन्त्रीको कुनै चासो पनि देखिँदैन ।

प्रहरी हिरासतमा रहेका टिकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीलाई जुस खुवाएर विवादित बनेका गृहमन्त्री थापाले प्रहरी प्रमुख नियुक्तिमा भने मेरिटलाई प्राथमिकता दिएर मनोबल उकास्ने काम गरे । तर, त्यसभन्दा तल्लो तहको सरुवा बढुवामा भने पुरानै प्रवृत्ति देखाएका छन् ।

सुन कान्डमा केही संदिग्ध अपराधीले आत्मसमर्पण गरेर गृहमन्त्रीको इज्जत जोगाए पनि लुटिएको साढे ३३ किलो सुन कहाँ छ भन्ने अनुसन्धानमा गृह प्रशासन चुकेको छ ।

यसरी, ‘अप्रेसन गृहमन्त्री’ सर्सती हेर्दा थापालाई पपुलिजमको नशाले च्यापेको देखिन्छ र संस्थागत उपलब्धिभन्दा व्यक्तिगत प्रचारबाजीमा उनको ध्यान देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्