Logo

पर्यटन उद्योग बौरेला त ?




काठमाडौं । हवाई सेवा र लामो दूरीको यातायात भदौ १ गते खुल्ने योजनासँगै यतिबेला पर्यटन क्षेत्रमा पनि झिनो आशा पलाएको छ । पाँच महिनादेखि थलिएको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन सरकारको राहत प्याकेजसँगै व्यवसायीको इच्छाशक्ति महत्वपूर्ण छ । तर, यो अवस्थामा पर्यटन क्षेत्रले तत्काल फड्को मार्नसक्ने अवस्था नरहे पनि सञ्चालन खर्चसम्म धान्नसक्ने अवस्थाका लागि पहल आवश्यक देखिन्छ ।

त्यसो त पाँच महिनाभन्दा बढी लकडाउनमा घरभित्रै खुम्चिएको हाम्रो समाज र बन्द अर्थतन्त्र केही सीमिततासहित चलायमान बनाउन खोजिनु सकारात्मक हो । पर्यटन क्षेत्रको विश्वव्यापी आँकडा हेर्ने हो भने पनि त्यति उत्साहजनक छैन । अर्कोतर्फ पर्यटनलाई सबैभन्दा बढी प्रभावित पार्ने भनेकै आम पर्यटकको मानसिक सन्त्रासले हो ।

अप्रिल र मे महिनामा ९० प्रतिशतभन्दा माथि रहेको कोभिड–१९ बारे मानसिक रूपमा रहेको डरत्रास जुलाईमा २० प्रतिशतभन्दा मुनि झरेकाले यसमा सम्भावना रहेको नै देखाएको छ । कोभिड–१९ निको पार्ने भ्याक्सिन वा औषधि बजारमा उपलब्ध नभएसम्म सामाजिक–आर्थिक अवस्था चल्दैन भन्ने बुझाइ विपरीत अब न्यू नर्मलको अवधारणामा जानुपर्ने अवस्था छ अर्थात औषधिबिनै पनि निश्चित सुरक्षा मापदण्ड अपनाएर अघि बढ्नुपर्छ ।

नेपालमा मात्र नभइ अर्थतन्त्र चलायमान बनाउनका लागि सारा विश्व नै लागिपरेको अवस्था छ, प्रयासरत र अग्रसर पनि छ । यस महामारीको प्रभाव बढिरहँदा पनि यही सेरोफेरोमा विश्वका धेरै देशले आन्तरिक तथा बाह्य आवतजावतका लागि वातावरण सहज बनाउँदै जीवनयापन चलायमान बनाइरहेका छन् ।

मानव जातिका लागि स्वास्थ्यको पाटो जति महत्वपूर्ण हो, त्यत्तिकै महत्वपूर्ण सामाजिक र आर्थिक पाटो पनि हो । एक देशदेखि अर्को देश र एक सहरदेखि अर्को सहर मात्रै हैन, आन्तरिक आवतजावतसमेत बन्द भएको अवस्थामा यसको प्रभाव विगतमा देखिएका संकटहरूमध्ये सबैभन्दा बढी छ । सबैभन्दा बढी प्रत्यक्ष असर त यसले पर्यटन उद्योगमा नै पारेको छ, जुन एक ठाउँबाट अर्को ठाउँमा ट्राभल गर्दा गरिने गतिविधिहरूले सिर्जित हुने अर्थतन्त्र हो ।

होटल, रिसोर्ट, ट्राभल, ट्रेकिङ, ९याफ्टिङ, एयरलाइन्स, रेस्टुराँजस्ता पर्यटन क्षेत्रमा खर्बौंको आय गुमिरहेको छ । प्रत्यक्ष, अप्रत्यक्ष र यसको प्रत्यक्ष सप्लाई चेन गरी पर्यटन क्षेत्रमा सिर्जित करिब ११ लाख जनशक्तिको रोजगारी संकटमा छ ।

नेपालको पर्यटन उद्योगमा मात्रै ४ खर्बभन्दा बढीको बैंक तथा वित्तीय क्षेत्रको लगानी रहेको प्रारम्भिक अनुमान छ । स्थिर सरकार, देशमा बढ्दो विकासोन्मुख सोच र मानसिकता, २० लाख पर्यटन भित्र्याउने लक्ष्यसहित घोषित भ्रमण वर्ष २०२० तथा सुध्रिँदै र विस्तार हुँदै गएको पूर्वाधारका कारण यस क्षेत्रमा ठूलो मात्रामा लगानी बढेको थियो र कोरोनाले यसबाट सबै क्षेत्रमा जोखिम बढाएको छ ।

पर्यटन उद्योगमा मात्रै ४ खर्बभन्दा बढीको बैंक तथा वित्तीय क्षेत्रको लगानी रहेको प्रारम्भिक अनुमान छ । महामारीले महासंकट त ल्याएको छ र यसको भार आउँदा दिनमा थपिँदै जानेछ । यसैले पर्यटन क्षेत्रमा अहिलेको संकटलाई अवसरका रुपमा उपयोग गरेर नयाँ ढंगले अगाडि बढ्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्