Logo

Banner-news

२५ बैंकको वित्तीय विवरणको संकेतः यो वर्ष नाफा घट्यो, अर्को वर्ष झनै संकट !


GDP Nepal
   ३१ श्रावण २०७७, शनिबार


काठमाडौं । मुलुकका विभिन्न २५ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक भइसक्दा अघिल्लो वर्षजस्तो यस वर्ष अचाक्ली नाफा कमाउन बैंकहरु असफल देखिएका छन् ।

अघिल्लो आवको अन्तिम त्रैमास सुरु हुनुअघि नै अर्थात चैतदेखि सुरु भएको कोरोना कहरले नेपालको वित्तीय क्षेत्रलाई पनि नराम्रो झट्का लागेको देखिन्छ । चैतअघि राम्रो व्यवसाय गरिरहेका बैंकहरु अन्तिम त्रैमासपछि रक्षात्मक अवस्थामा रहेको तथा कोरोना संकट लम्बिँदै गएकाले चालू वर्षको कारोबार अर्थात आगामी आवमा सार्वजनिक हुने वित्तीय विवरण पनि उत्साहजनक हुने देखिँदैन ।

रियल सेक्टर भनिने उत्पादनशील क्षेत्र संकटमा परिरहँदा बैंकहरु भने मनमौजी शुल्क र चर्को ब्याजका कारण वित्तीय क्षेत्र सधैँ आकर्षक प्रतिफल र सुरक्षित लगानीको क्षेत्र बनिरहँदा पछिल्लो समय भने रियल सेक्टर थला परेसँगै वित्तीय क्षेत्र पनि जोखिममा परेको छ ।

आर्थिक वर्ष ०७६÷७७ मा हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकको नाफामा उल्लेख्य गिरावट देखिएको छ । कृषि विकास बैंक र प्रभु बैंकबाहेक २५ वाणिज्य बैंकले आव २०७६÷७७ को वार्षिक विवरण प्रकाशित गर्दा सबैको नाफामा असर देखियो ।

वित्तीय विवरण सार्वजनिक गरेका २५ वाणिज्य बैंकमध्ये कूल १८ बैंकको नाफा अघिल्लो आवको तुलनामा घटेको पाइएको छ । विवरणअनुसार सात वाणिज्य बैंकको नाफामा सामान्यमात्र वृद्धि भएको छ ।

बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आव ०७६÷७७ मा कूल ५१ अर्ब १७ करोड बराबरको नाफा गरेका छन् । अघिल्लो आवमा ५७ अर्ब ४४ करोड नाफा गरेका थिए ।

अघिल्लो आवको तुलनामा गत आवमा बैंकहरुको नाफा झण्डै ११ प्रतिशतले घटेको छ । विवरण अनुसार बैंकको नाफा ६ अर्ब २७ करोडले घटेको हो ।

आव ०७६÷७७ मा सबैभन्दा कम नाफा गर्ने बैंकमा सिभिल बैंक रहेको छ । सो बैंकको नाफा ३५ प्रतिशतले घटेको छ । नेपाल एसबिआई बैंकको नाफा ३३.२२, कुमारी बैंकको ०.३१ प्रतिशत छ ।

विवरणअनुसार माछापुच्छ्रे २६.२२, सानिमाको २४.५६, सिटिजन्स बैंकको २३.७२, नेपाल इन्भेष्टमेन्टको २२.६३, बैंक अफ काठमाडौँको २२.२१ र नेपाल बङ्गलादेश बैंकको नाफा २०.७५ प्रतिशतले घटेको छ ।

यस्तै, स्ट्यान्डर्ड च्यार्टर्ड बैंकको १८.५१, सनराइजको १८.३५, एभरेष्टको १८.१४, नबिलको १५.८५ र राष्ट्रिय वाणिज्य बैंकको ११.७७ प्रतिशतले नाफामा गिरावट आएको छ । सिद्धार्थको ८.२६, हिमालयनको आठ, नेपाल बैंकको १.५५ र कुमारी बैंकको ०.३१ प्रतिशतले नाफा घटेको छ ।

सेञ्चुरी बैंकले ३३.९७, ग्लोबल आइएमईले ११, एनसिसीले १०.७४, प्राइमले ४.२७, एनआइसी एसियाले ३.२४ र एनएमबी बैंकले ०.५९ प्रतिशत मात्रै नाफा गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४५ करोड नाफा आर्जन गरेको छ । सिभिल बैंकले ४५ करोड ७० लाख नाफा आर्जन गरेको छ । नबिल बैंकले ३ अर्ब ५६ करोड, एनआइसी एसिया बैंकको ३ अर्ब १२ करोड नाफा छ ।

ग्लोबल आइएमई बैंकले ३ अर्ब ८ करोड कमाएको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको २ अर्ब ५७ करोड, हिमालयन बैंकको २ अर्ब ५४ करोड, माछापुच्छ्रे बैंकको १ अर्ब २५ करोड, सानिमा बैंकको १ अर्ब ७० करोड नाफा छ ।

प्रकाशित : ३१ श्रावण २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह