Logo

Banner-news

समर्थककै कारण घिसिङ रक्षात्मकः जनदबाब बढ्दै, प्रधानमन्त्री र ऊर्जामन्त्रीमा भने इगो


GDP Nepal
   १२ भाद्र २०७७, शुक्रबार


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिन जनदबाब बढ्दै गए पनि त्यसबाट प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुन भने चिढिएका छन् ।

घिसिङका पक्षमा सामाजिक सञ्जालदेखि सडकसम्म स्वस्फूर्त जनता निस्किन थालेपछि सरकारमाथि दबाब त बढेको छ तर यसलाई घिसिङले नै परिचालन गरेको ब्रिफिङ ओली र पुनलाई गराइएको छ । घिसिङले बिहीबार विज्ञप्ति नै सार्वजनिक गरेर आफ्ना समर्थकहरुलाई अन्ध–समर्थन नगर्न आग्रह गरिसकेका छन् ।

घिसिङले मुलुकलाई लोडसेडिङमुक्त गराएको सत्य भए पनि आफ्नोमात्र भूमिका नरहेको बताइरहेका छन् । पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेविरुद्ध आक्रोशित हुँदै उनका समर्थकले एकल जस दिन खोजेपछि घिसिङले यसरी अतिरञ्जित ढंगले व्याख्या नगर्न आग्रह गर्नुपरेको हो । कतिपयले भने यसलाई घिसिङको विनयशीलता तथा नम्रताका रुपमा पनि व्याख्या गरिरहेका छन् ।

घिसिङको चार वर्षे कार्यकाल भदौ अन्तिम साता सम्पन्न हुँदैछ । तर, प्रधानमन्त्री ओली र ऊर्जामन्त्री पुन दुवै घिसिङलाई दोहो¥याउने पक्षमा छैनन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल भने घिसिङकै पक्षमा रहेका छन् भने जनमत उनको बलियो पक्ष हो ।

घिसिङ कुशल व्यवस्थापक रहेको र प्राधिकरणका लुपहोलबारे जानकार रहेकाले उनबाट मात्र प्राधिकरणमा सुधार सम्भव देखिने जानकारहरु बताउँछन् । प्राधिकरणमा उनलाई दोहो¥याउन सकिए यसको वित्तीय अवस्थामा सुधार आउने तथा मुलुकको ऊर्जा क्षेत्रमा नै विकास र विस्तार हुने देखिन्छ ।

घिसिङले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिः
नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ भदौ २९ को निर्णयबाट मलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका लागि नियुक्त गरेको थियो।

मेरो चारवर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुनज्यूलाई जोडेर विगत केही दिनदेखि विभिन्न संचारमाध्यम, सामाजिक संजाल र मेरो गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

मेरो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री, माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र मलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिनु हुन अनुरोध गर्दछु।

नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्णस्वामित्वको संस्था भएकाले सम्माननीय प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यन्वयनमार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धीहरु हासिल भएका छन्।

लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जामन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन।

सबै नेपालीको घरमा उज्यालो पु¥याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा संचालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाइजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको सेयरधनी कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारणलाइन आयोजनाहरुको निर्माण गर्ने लगायतका नेपाल सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको समेत जानकारी गराउँदछु।

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह