Logo

Banner-news

अर्थमन्त्री निरन्तरताको संकेत, खतिवडा दोहोरिँदा के हुन्छ ?


GDP Nepal
   १५ भाद्र २०७७, सोमबार


काठमाडौं । अर्थमन्त्रीका रुपमा युवराज खतिवडाको निरन्तरताको सम्भावना बलियो बन्दै गएको छ । पार्टीभित्र चर्को आलोचना तथा निजी क्षेत्रले समेत नरुचाएका अर्थमन्त्री खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले भने बलियो काँध थापेका छन् ।

प्रधानमन्त्री ओलीले ५ महिनादेखि अर्को महत्वपूर्ण मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पनि खतिवडालाई नै दिएका छन् । जबकि मन्त्रिपरिषदमा लामो समयदेखि ओलीका विश्वासपात्र प्रदीप ज्ञवालीदेखि ईश्वर पोखरेलसम्म छन् ।

तर, अर्थ मन्त्रालयको कार्यबोझले थिचिएका खतिवडालाई सञ्चारजस्तो रणनीतिक महत्व बोकेको मन्त्रालयको जिम्मेवारीसहित सरकारको प्रवक्ताका रुपमा उभ्याउनुले पनि ओलीको खतिवडाप्रतिको विश्वास स्पष्ट हुन्छ ।

हुन पनि राजनीतिक व्यक्तिले आफ्नो मन्त्रालय मातहतको नियुक्तिमा आफूनिकट व्यक्तिलाई नियुक्त गर्छ र प्रधानमन्त्रीले चाहेका व्यक्ति कहिलेकाहिँ नियुक्त नहुन सक्छ । तर, खतिवडामा राजनीतिक महत्वाकांक्षा नहुँदा अर्थ र सञ्चार मातहतका निकायमा ओलीकै व्यक्ति सहजै नियुक्त भइरहेका छन् ।

ओलीजस्तै तर्कमा माहिर र आफ्ना विरोधीलाई पेलेरै अगाडि बढ्ने मामिलामा खतिवडा अब्बल छन् । आफ्नो विरोध गर्नेहरुको नियत र कमजोरीबारे ओलीलाई राम्रोसँग बुझाउन सकेका कारणले पनि ओली खतिवडासँग असन्तुष्ट छैनन् ।
प्रधानमन्त्री ओली आफैं पनि अर्थतन्त्रका विभिन्न पक्षबारे ज्ञान राख्छन् र यसका जानकारहरुको कुरा अभिरुचिपूर्वक सुन्छन् ।

गत संसदीय निर्वाचनमा उनले नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा आफू कांग्रेसका शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग बहस नगर्ने बरु डा. रामशरण महतसँग बहस गर्न तयार रहेको बताएका कारण आयोजकले महतलाई नुवाकोटबाट रातारात काठमाडौं बोलाएको थियो ।

महासंघका एक पदाधिकारीका अनुसार ओलीले त्यतिबेला भनेका थिए– शेरबहादुरजीसँग बसेर म समय बरबाद गर्न चाहान्न, रामचन्द्र जीका पण्डित्याइँ सुन्नुभन्दा त बरु नारायण पोखरेलको प्रवचन सुन्नु उचित होला । बरु मलाई पोर्टफोलियोसँग मतलब छैन, रामशरण महत बोलाउनुस् । उहाँसँग अर्थतन्त्रको बहस गर्न म तयार छु ।

ओलीमा अर्थतन्त्रको धेरथोर ज्ञान भरिदिने र अपडेट गराउने खतिवडा नै हुन् । यसैले ईश्वर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवालीजस्ता आफ्ना क्याम्पका खम्बाहरुको रुचिको अर्थ मन्त्रालयमा उनले खतिवडा नियुक्त गरेका थिए । माधव नेपाल क्याम्पका सुरेन्द्र पाण्डे भने उनको रोजाइमा कहिल्यै परेनन् । पाण्डेले अर्थमन्त्री हुनकै लागि राष्ट्रपति विद्या भण्डारीसँग सम्बन्ध बढाए पनि त्यो कामयावी हुने सम्भावना देखिँदैन ।

अर्थमन्त्रीमा खतिवडाको निरन्तरताबारे विभिन्न भ्रम उत्पन्न हुँदै जाँदा प्रधानमन्त्री ओलीले गत शनिबार पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा खतिवडाबारेको बहसको अन्त्य गरिदिएका छन् । उनले खतिवडाको बारेमा भविष्यवाणी नगर्न आग्रह गर्दै उनको कार्यशैलीप्रति आफू सन्तुष्ट रहेको र अरुको टिप्पणी हेरेर आफूले काम नगर्ने पनि स्पष्ट पारे ।

हुन पनि खतिवडाका सम्बन्धमा नेकपाको अर्को गुटदेखि अर्थशास्त्रीहरुको ठूलो समूह र उद्योगी व्यापारीहरु पनि भ्रम फैलाउन उद्यत देखिन्छन् । जसरी पनि खतिवडा हटाएर सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउनुपर्छ भन्नेहरुले यो मन्त्रालयमा राजनीतिक व्यक्ति चाहिन्छ भन्दै वामदेव गौतमसम्मको नाम चर्चामा ल्याए । तर, त्यो अफवाह फैलाउनेको प्रधानमन्त्रीले मुटुमै प्रहार गरिसकेका छन् ।

खतिवडा अर्थमन्त्रीमै दोहोरिए के हुन्छ ?
अर्थमन्त्रीमा खतिवडा दोहोरिँदा सबैभन्दा ठूलो असर सेयर बजारमा पर्ने निश्चित छ । सेयर बजारमा खतिवडा हटाएसँगै परिसूचक २८ सयसम्म पु¥याउने भविष्यवाढी गर्दै हिँडेका केही टाइकुनहरु नाफा सुरक्षित गरेर बाहिरिन चाहान्छन् । साना लगानीकर्तालाई डुबाएर केही सीमितले नाफा कमाउने प्रवृत्ति केही समयदेखि रोकिएको छ । खतिवडा दोहोरिएमा सेयर बजार धेरै माथि वा धेरै तल जाने अवस्था छैन ।

निजी क्षेत्रभित्र अधिकांश घरानाले खतिवडा हटाउन चाहेका छन् र यसका व्यावसायिक स्वार्थ नै जोडिएको छ । त्यो पूरा नहुँदा उनीहरुले लगानीमैत्री वातावरण बन्न नसकेको हल्ला फिँजाउने सम्भावना पनि उत्तिकै छ । जसका कारण खतिवडा डिफेन्सिभ हुनेछन् ।

घरजग्गा, सेयर जस्तै छोटो समयमा नाफा बुक गर्ने व्यवसायहरु क्रमशः शिथिल हुनेछन् । तर, यसको असर उत्पादनमूलक र सेवा क्षेत्रमा पनि पर्ने देखिन्छ ।

करको मामिलामा खतिवडा राजनीतिक अर्थमन्त्रीभन्दा बढी अनुदार छन् । करको दायरा बढाउँदै लगेका उनी कर छुटका सम्बन्धमा हत्पत्ति सम्झौता गर्दैनन् । यसबाट राजस्वमा भने सुधार नै देखिन्छ ।

यद्यपि, प्रधानमन्त्री निकट केही ठूला घरानाका सम्बन्धमा उनको आदर्श विचलित भएको देखिन्छ । यसका कारण उनको व्यक्तित्वमा समेत यसअघि नै ठूलो क्षति पुगिसकेको छ । खतिवडाको स्ट्रेन्थ र कमजोरी दुवै प्रधानमन्त्री ओली हुन् । ओलीले भनेको कुरा काट्न सक्ने अवस्थामा नहुँदा उनी चकलेटमा कर छुटजस्ता विवादमा फस्ने गरेका छन् ।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह