Logo

Banner-news

निजामती कर्मचारीको चुनाव रोकियो, उद्योग वाणिज्य महासंघको कसरी होला ?


GDP Nepal
   ८ आश्विन २०७७, बिहिबार


काठमाडौं । सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोकेको छ । तीन सातापछि अर्थात असोज २४ गतेका लागि निर्धारित निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन निर्वाचन मंसिर २७ गते गर्ने नयाँ निर्णय भएको छ ।

आधिकारिक ट्रेड युनियन निर्वाचन मंसिर २७ मा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले नै गरेको हो । बैठकले यसका लागि श्रम तथा रोजगार मन्त्रालयमार्फत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागलाई निर्देशन दिने पनि निर्णय गरेको छ ।

निर्वाचनको मिति सारिनुमा कोभिड संक्रमण बढिरहेको भन्ने कारण देखाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै सक्रिय संक्रमितको संख्या वृद्धि भएमा पुनः लकडाउन गर्ने जानकारी गराइसकेको छ । यस्तो अवस्थामा मंसिरमा पनि निजामतीको निर्वाचन सम्भव देखिँदैन ।

यता, मंसिर दोस्रो साता निर्वाचन गर्ने तयारीमा रहेको नेपाल उद्योग वाणिज्य महासंघलाई सरकारको पछिल्लो निर्णयले धक्का लागेको छ ।

महासंघ पदाधिकारी समितिको शुक्रबार राजधानीमा बसेको बैठकले मंसिर ११ र १२ गते काठमाडौंमा साधारणसभा गर्ने सहमति गरेको थियो । पदाधिकारी समितिको यो निर्णय कार्यकारिणी समितिको पूर्ण बैठकमा पेश गरिने र समितिले अनुमोदन गरेमात्र कार्यान्वनमा आउने भनिएको छ ।

महासंघको साधारणसभा पटकपटक सर्दै आएको छ । चैत २८ गते हुनुपर्ने साधारणसभा पहिलोपटक जेठसम्मलाई सारिएको थियो भने दोस्रोपटक साउनमा गर्ने तयारी थियो । तेस्रो मिति मंसिर ११ र १२ लाई निर्धारण गरिए पनि नहुने सम्भावना देखिएको छ ।

निजामती कर्मचारीको निर्वाचन आफैं स्थगित गरेको सरकारले उद्योगी व्यवसायीलाई पनि साधारणसभा र निर्वाचनको अनुमति दिने अवस्था नरहेको एक सरकारी अधिकारीले बताएका छन् ।

प्रकाशित : ८ आश्विन २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह