Logo

Banner-news

तातोपानी नाका खोल्न चीन तयार, तर जुनसुकै बहानामा फेरि बन्द हुनसक्छ


GDP Nepal
   १४ आश्विन २०७७, बुधबार


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तातोपानी नाका खोल्न चिनियाँ पक्ष तयार भएको छ । नेपाल र चीनबीचको पुरानो यो नाका खोल्न चीन तयार भए पनि लामो समय चल्नेमा ढुक्क हुने अवस्था नरहेको नेपाली अधिकारीहरु बताउँछन् ।

दुई देशका अधिकारीहरुका अनुसार आउँदो सातादेखि यो नाका पुनः सञ्चालनमा आउनेछ । नाका सञ्चालनमा आएसँगै चिनियाँ भूमिमा महिनौंदेखि रोकिएका नेपाली व्यापारीका कन्टेनरहरु भित्रिने बाटो खुल्नेछ ।

तर, विगतदेखि नै चीनले यो नाका चलाउन चाहेको छैन र नेपाली पक्षको बारम्बारको आग्रहलाई टार्न नसकेर केही दिनका लागि सञ्चालनमा ल्याएर बहाना बनाउँदै रोक्ने गरेको पाइन्छ ।

यसअघि नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढेको र तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरो जाने क्रम बढेपछि यो नाका बन्द रहेको थियो ।

तातोपानी नाका २०७२ को विनासकारी भूकम्पले बन्द गराएको थियो । २०७२ मा बन्द भएको नाका २०७६ जेठमा खुलेपनि फागुनमै फेरि बन्द भयो । चीनमा देखिएको कोभिड १९ का कारण बन्द गरिएको नाका स्वास्थ्य सामग्री ल्याउँदा खुलाइएको थियो ।

तातोपानीबाट सबै खाले सामग्री ल्याइने निर्णय गरेसँगै खुलेको नाका पछिल्लोपटक असार २४ गते अरनिको राजमार्गस्थित बाह्रविसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशीमा बाढी आएर सडक क्षतविक्षत बनाएपछि असार २५ बाट नाका बन्द थियो । असार २५ पछि बल्ल सोमबार नाका पुन सुचारु हुन लागेको हो ।

मंगलबार दुई देशका अधिकारीबीच मितेरी पुलमा बसेको बैठकले स्वास्थ्य मापदण्ड पुरा गरि नाका सुचारु गर्ने निर्णय गरेको छ । नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रहरी प्रमुख राजन अधिकारी, सशस्त्र प्रहरी प्रमुख, भन्सार प्रमुख, अनुसन्धानका प्रमुखलगायत सुरक्षा निकायका प्रमुखहरु छलफलमा सहभागी भएका थिए ।

तातोपानी नाका खासामा मात्रै नेपाली व्यवसायीका करिब ८ सय कन्टेनर सामग्री रोकिएका छन् । ती सामान न्यालाम, सिगात्से र खासाका गोदाममा रहेका छन् ।

प्रकाशित : १४ आश्विन २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह