Logo

संक्रमित २५ हजार पुगे पनि लकडाउन नहुने, स्वास्थ्य मन्त्रालय भने लकडाउनकै पक्षमा




काठमाडौं । सरकारले सक्रीय संक्रमितको संख्या २५ हजार पुगेसँगै निश्चित स्थानमा लकडाउन वा निषेधाज्ञा गर्ने घोषणा यसअघि नै गरे पनि तत्काल यो कार्यान्वयन नहुने भएको छ । बुधबार मुलुकभर सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार संक्रमित नाघेसँगै लकडाउन वा निषेधाज्ञा गर्नुपर्ने निष्कर्ष तीन साताअघि नै सार्वजनिक गरेको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५ दिन लकडाउन गरेमा कोरोना नियन्त्रणमा ल्याउन सकिने बताउँदै आएका छन् ।

लकडाउनका लागि आधार तयार गर्न स्वास्थ्यले तथ्यांकहरुको अतिरञ्जित प्रचार समेत गर्दै आएको छ । नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले बुधबार मात्रै सास फेर्न गाह्रो वा बेहोस हुन लागेमात्र अस्पताल जानू भन्ने अभिव्यक्ति दिएका छन् । अस्पतालका बेड भरिएका र भेन्टिलेटरको उपलब्धता नभएका कारण यस्तो धारणा राखे पनि उनको प्रस्तुतिले आतंक सिर्जना गरिरहेको देखिन्छ ।

स्वास्थ्य मन्त्रालयले जसरी पनि लकडाउन गर्न चाहे पनि अन्य मन्त्रालयहरु भने विगतको अनुभवका आधारमा यस्तो गर्न नहुने पक्षमा छन् । विगतमा बिनाकारण लकडाउन र निषेधाज्ञा लागू भएको भन्दै सरकारको आलोचना भएको थियो ।

यता, काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको अन्य भूभागमा कोरोनाको प्रकोप विस्तारै नियन्त्रणउन्मुख हुँदै गए पनि काठमाडौँ उपत्यका अझै पनि उच्च जोखिम कायम रहेको बताए ।

“हाल प्रत्येक दिन देखिने कूल सङ्क्रमितमध्ये आधाभन्दा बढी सङ्क्रमितको सङ्ख्या उपत्यकामा रहेको छ । अहिलेसम्म उपत्यकामा कोरोना सङ्क्रमण नियन्त्रण उन्मुख नदेखिएको हुनाले काठमाडौँवासीले असाध्यै धेरै सतर्कता अपनाउनुपर्ने जरुरी छ”, उनले भने, “झण्डै ४० लाख बसोबास गर्ने उपत्यकामा यदि सङ्क्रमण अनियन्त्रित भयो भने त्यसले हामीलाई निकै ठूलो जोखिममा पु¥याउनसक्ने अवस्था छ ।”

मन्त्री ज्ञवालीले काठमाडौँवासीलाई आफूले सेवा दिँदा वा लिँदा, व्यवसाय सञ्चालन गर्दा वा सहयोग पु¥याउँदा, सार्वजनिक यातायात वा निजी सवारीसाधनमा हिँडडुल गर्दा तथा अन्य कुनै प्रकारको गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन विशेष आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्