Logo

Banner-news

विष्णु पौडेलः प्रदेश राजधानीले काटिएको नाक अर्थमन्त्रीले जोडिएला ?


GDP Nepal
   २९ आश्विन २०७७, बिहिबार


काठमाडौं । विष्णु पौडेल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र निकै भाग्यमानी नेता हुन् । उनको भाग्यको ग्राफ पार्टी राजनीतिसँगै सत्ता राजनीतिमा पनि उत्तिकै बलेको छ ।

बिहीबारदेखि दोस्रोपटक अर्थमन्त्रीको पदभार सम्हाल्दै गरेका पौडेलले अहिलेको संकटपूर्ण अर्थतन्त्रलाई कसरी पार लगाउलान् भन्नेमा प्रधानमन्त्रीदेखि निजी क्षेत्रसम्म सिरियस देखिँदैन । व्यवसायी जगत युवराज खतिवडाको तुलनामा उदार अर्थमन्त्री पाएकैमा मख्ख छ भने प्रधानमन्त्री पौडेललाई सरकारमा ल्याएर पार्टी सचिवालयमा आफू बलियो बन्ने धुनमा अर्थतन्त्रका सारा समस्यालाई लत्याउन तयार देखिए ।

विष्णु पौडेल

पौडले आफैंले पनि यसपटक अर्थमन्त्री बन्ने दुस्साहस गरेका हुन् । कोरोना संकटबाट अर्थतन्त्रलाई बचाउन संसारका शक्तिशाली मुलुकलाई समेत हम्मे परिरहेका बेला नेपालजस्तो साधन स्रोत सीमित भएको र अर्थतन्त्रका संरचना पनि राम्ररी विकास नभइसकेको मुलुकमा कुनै अध्ययन, ज्ञान, सीप र त्यति ठूलो व्यवस्थापकीय अनुभव समेत नभएका पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी ताक्नु आफैंमा आश्चर्यपूर्ण छ ।

कतिपय विश्लेषकहरुका अनुसार अहिलेको संकटमा विष्णु पौडेलले अर्थ मन्त्रालय सम्हाल्नु भनेको ट्याक्सी चालकलाई जहाज उडाउन दिएजस्तै भएको टिप्पणी गर्छन् । कोपाइलट राम्रो भएमा जहाज दुर्घटना नभइ सफल अवतरण हुन पनि सक्छ तर उडान अवधिभर यसको जोखिम भने रहिरहन्छ । विष्णु पौडेलको सिंहदरवार यात्रा पनि यस्तै रहेको उनीहरुको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र अर्का नेता जीवराज आश्रितको दुर्घटनापछि लामो समय पार्टी नेतृत्वमा माधव नेपाल रहँदा अहिलेका अधिकांश नेता त्यति ठूलो भूमिकामा नरहँदा पनि पौडेल त्यतिबेलै संगठन विभाग प्रमुख भइसकेका थिए ।

पौडेल शासकीय अनुभव नभएका भने होइनन् । यसअघि तीनपटक मन्त्री भइसकेका उनले अर्थ मन्त्रालयमा नेतृत्व सम्हाल्दा मुलुक भूकम्पपछिको पुनस्र्थापनको चरणमा रहेकाले आर्थिक गतिविधि गुलजार थियो भने विदेशीले पनि दिल खोलेर सहयोग गरिरहेका थिए ।

अहिले अवस्था फरक छ । राज्यका साधन स्रोत खुम्चिएका छन् भने विदेशी सहयोग ठप्पप्राय छ । अर्थ मन्त्रालयमा व्यावसायिकभन्दा चाकडीप्रेमी टिम रहेकाले पनि भर पर्ने अवस्था समेत छैन । त्यसमाथि हरेक निर्णयमा प्रधानमन्त्री सचिवालयको स्वार्थले काम गरिरहेकाले पौडेललाई यसपटक आफ्नो जिम्मेवारी भारी पर्नसक्ने देखिन्छ ।

सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सहमतिका कारण प्रदेश ५ को राजधानी बुटवलबाट दाङ सरिसकेको छ । यो अवस्थामा पौडेलको क्षेत्रीय राजनीतिसमेत संकटमा परेकाले उनलाई रुपन्देहीमै इज्जत जोगाउन धौधौ छ ।

पौडेलले अर्थमन्त्रीका रुपमा सफल हुन सके भने प्रदेश राजधानीमा काटिएको नाक फेरि पलाउन सक्ला तर अर्थमन्त्रीमा असफल भए भने उनको राजनीति जोगिन सक्दैन । बालुवाटार जग्गा प्रकरणमा जसरी केपी ओलीले अर्थमन्त्रीको असफलतामा भने जोगाउन सक्दैनन् किनकी ओली स्वयं यसमा पौडेलसँगै डुब्नेछन् ।

प्रकाशित : २९ आश्विन २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह