Logo

Banner-news

चक्रपाणि खनालले रोकेका भारतीय खसीबोका घनश्याम भुसालको पालामा खुला !


GDP Nepal
   ३ कार्तिक २०७७, सोमबार


काठमाडौं । गत वर्ष दसैंमा भारतीय खसीबोका आयातमा रोक लगाइएको थियो । तत्कालीन कृषिमन्त्री चक्रपाणि खनालको पहलमा खसीबोका आयातमा रोक लगाइँदा स्वदेशमा मासुको मूल्य महँगो भए पनि नेपाली किसानले उचित मूल्य पाएको भन्दै प्रशंशा नै भएको थियो ।

यस वर्ष कृषिमन्त्री फेरिएका छन् । समाजवादी चिन्तक तथा मार्क्सवादी अध्येता भनिएका घनश्याम भुसाल कृषिमन्त्रीको कुर्सीमा छन् । तर, भारतीय खसीबोका आयातमा रोक लगाउने अघिल्ला मन्त्री खनालको निर्णयले भुसालको पालामा निरन्तरता पाउन सकेन ।

काठमाडौं उपत्यकामा अहिले हजारौंको संख्यामा भारतीय खसीबोका भित्रिरहेका छन् । व्यवसायीले भारतीय खसीबोकाको मूल्य नै प्रतिकेजी ६ सय ४० देखि ६ सय ५० रुपैयाँ मूल्य कायम गरिएको जानकारी दिएका छन् ।

जबकि भारतीय खसीबोकाभन्दा नेपाली उत्पादन सस्तोसमेत छ । नेपाली खसीबोका ६ सय ३० र च्याङ्ग्रा प्रतिकेजी ९ सयदेखि १ हजार रुपैयाँ मूल्यमा बिक्री भइरहेको छ ।

विगतका वर्षमा रोकिए पनि यस वर्ष भने छिमेकी मुलुक भारतबाट व्यवसायीले खसीबोका ल्याएर बिक्री सुरु गरेका छन् । परीक्षणबिनै भारतीय खसीबोका निर्वाध रूपमा आइरहेको भन्दै व्यवसायीले यसको विरोध जनाउँदै आएका छन् ।

त्यसो त खनालको कृषिमन्त्री पद जानुमा भारतीय तरकारी आयातमा कडाइ तथा धुलो दूध र खसीबोका आयातमा निषेधलाई नै कारण मानिएको छ । मन्त्रीमण्डल पुनर्गठनमा औषतभन्दा राम्रो काम गरिरहेका खनाललाई हटाएर कमजोर परफरमेन्स भएका मन्त्रीहरु राखिएको भन्दै आलोचना भएको पनि थियो । यद्यपि, उनको ठाउँमा घनश्याम भुसालको नियुक्तिले भने आलोचनाको स्वर मत्थर भएको थियो ।

यता। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि उपत्यकामा खसीबोका बिक्री सुरु गर्दैछ । दसैंलाई लक्षित गरी जथाभावी मूल्य निर्धारण रोक्नका लागि विभिन्न जिल्लाबाट ल्याइएका खसीबोकाको बिक्री खुला गरिएको हो । प्रतिकेजी १० रुपैयाँ छुट दिएर जिउँदो खसीको मूल्य ५५० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित : ३ कार्तिक २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह