Logo

कांग्रेसलाई व्यवसाय-मैत्री तथा गरिखाने वर्गको पार्टीमा स्थापित गर्नुपर्छः विनोद चौधरी




विनोद चौधरी
मूलत: राजनीतिले जनताको अपेक्षा सम्बोधन गर्नुपर्छ । बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्थामा जनताले आवधिक निर्वाचन मार्फत् आफ्नो अभिमत व्यक्त गर्ने भए पनि स्थापित र ठूला राजनीतिक दलहरुबाट जनअपेक्षा सम्बोधन हुने आशा क्रमशः टुट्दै गएको देखिन्छ । त्यसलाई युवाहरुले विभिन्न माध्यमबाट अभिव्यक्त गरिरहेका छन् । सामाजिक सञ्जालहरु या अन्य मञ्चहरुमा देखिने त्यो निराशालाई आशामा बदल्नेतर्फ प्रभावकारी कदम चाल्न अब ढिला भैसकेको छ । दलहरुको आह्वानमा व्यवस्था परिवर्तनमा होमिएका आम मानिसहरुलाई परिवर्तित व्यवस्थाले दिएका राजनीतिक अधिकार प्रयोग गर्नका लागि आर्थिक रुपमा पनि सम्पन्न गर्दै लैजानुपर्ने थियो । आर्थिक रुपान्तरणको ठूलो अभियान बिना अब कोरा राजनीतिक भाषणबाजीले मात्र जनता आश्वस्त भैरहने छैनन् ।

मुलुकको सबैभन्दा पुरानो र प्रजातान्त्रिक दल हुनुका साथै आर्थिक उदारीकरणको समेत नेतृत्व लिएर मुलुकलाई संमृद्ध तुल्याउने अभियानको नेतृत्व लिएको नेपाली कांग्रेसले आर्थिक रुपान्तरणको मर्मलाई अंगीकार गरेर गत जेठ ४ गते विभिन्न समितिहरु गठन गर्ने क्रममा ‘लगानी, पूर्वाधार र रोजगार ः दृष्टिकोण एवं दीगो पूर्वाधार केन्द्रित समिति’ गठन ग¥यो । खासगरी कोभिड–१९ को महामारीका कारण मुलुकमा उत्पन्न विकराल परिस्थितिमा मुलुक र पार्टीका तत्कालीन प्राथमिकतामा केन्द्रित रहेर काम गर्दैगर्दा धेरै सरोकारवालाहरुसँग अन्तत्र्रिmया हुँदै गयो ।


वास्तवमा ठूलो संख्यामा युवाहरु आफ्नै मुलुकमा केही गरौं भनेर विदेशमा अध्ययन सकेर, पेशा, रोजगारी, व्यवसाय छाडेर नेपालमा फर्केका छन् । मुलुकभित्रै हरेक वर्ष श्रम बजारमा आउने झण्डै ५ लाख युवाहरुको पहिलो प्राथमिकता मुलुकमै केही गरौं भन्ने हुन्छ । कोभिड–१९ को प्रकोपका कारण अहिले मुलुकमा उद्योग, व्यापार, आथिर्क गतिविधि ठप्प भएको अवस्था छ । रोजगारी गुमेका छन्, जनताको कष्ट थपिएका छन् । यस्तो पृष्ठभूमीमा पनि भ्रष्टाचार, स्रोतको दुरुपयोग तथा प्रभावकारी काम हुन नसक्दा उनीहरुको मन कुँडिएको छ ।
म आफैं पनि विद्यार्थीकालमा पनि किसुनजी, गिरिजाबाबुको निकटमा रहेर काम गरें । व्यावसायिक जीवनमा म पार्टीमा सहभागी नभएपनि सरकारसँग निकट रहेर काम गरें । प्रारब्ध या नियतिले पुनः एकपटक मलाई नेपाली कांग्रेसमा रहेर काम गर्ने अवसर दिएको छ । आवधिक निर्वाचनमा २० लाख युवाहरु नयाँ मतदाताका रुपमा तयार हुन्छन् । झण्डै ४० लाख नेपालीहरु विदेशमा रोजगारी गरिरहेका छन् । उनीहरु मुलुकमा आर्थिक रुपान्तरण खोजीरहेका छन् । इन्टरनेटको माध्यमबाट संसारको परिवर्तनलाई नियालीरहेका छन् । आफैंले देखेका छन् र आफ्नो मुलुकमा अपेक्षित रुपान्तरण नहुँदा उनीहरुमा तिक्तता बढ्दो छ । भ्रष्टाचार निर्मूल गर्ने, स्रोतलाई सम्भावनासँग जोड्ने क्षमता, सेवाको गुणस्तर, उद्यम र रोजगारीका लागि मुलुकमा यथोचित वातावरण आजको जनअपेक्षा हो । जुन राजनीतिक दलले यसलाई अघि बढाउन र कार्यान्वयन गर्न सक्छन्, यसमा मात्र उनीहरुले आस्था अड्याउन सक्छन् ।

विनोद चौधरी

वास्तवमा नेपाली कांग्रेस गरिखाने वर्गको पार्टी हुनुपर्छ । गरिखाने वर्ग आफ्नो अभिव्यक्तिमा प्रतिवद्ध हुन्छन् । उनीहरुले बोलेको पु¥याउँछन् भन्ने आम विश्वास हुन्छ । वास्तवमा एउटा उद्यमी र गरिखाने मानिसलाई उसले बोलेको पु¥याउनु र विश्वास आर्जन गर्नु नै यो वगर्क ो साख हुन्छ । बोलेको पु¥याउनु नै उनीहरुको पँुजी हो । साख हो । त्यसकारण गरिखाने वर्गको पार्टीका रुपमा नेपाली कांग्रेस अघि बढ्नुपर्छ । उद्यमीहरुका सम्बन्धमा साधरणतया मानिसहरु उनीहरुले बोलेको पु¥याउँछन् भन्ने मान्यता राख्छन् ।

गरिखाने वर्गको पार्टीका रुपमा नेपाली कांग्रेसले पनि बोलेको कुरा पु¥याउँछ भन्ने मान्यता स्थापित गर्नुपर्छ । देश बन्नका लागि पार्टीभित्र राजनीतिक त्यागको जति आवश्यक छ, त्यस्तै आवश्यकता स्रोतको व्यस्थापन गर्न सक्ने क्षमताको आवश्यकता छ । स्रोतको व्यवस्थापनको अभावमा जस्तोसुकै राजनीतिक सक्रियता र राजनीतिक परिवर्तनले ‘डेलिभरी’ दिन सक्दैन । स्रोतको समुचित र प्रभावकारी व्यवस्थापनले मात्र आम मानिसले खोजेको परिवर्तन सम्भव छ ।

युवाहरुको आकांक्षा, क्षमता र केही गर्छु भन्ने विश्वास र संकल्पलाई पूरा गर्न एउटा भरपर्दो प्रणालीको आवश्यकता छ । त्यो प्रणालीमार्फत् उनीहरुका आकांक्षा अघि बढाउन सकियोस् । यतिबेला राज्यको स्रोतको परिचालनमा सबैभन्दा ठूलो समस्या बनेको छ । यसमा कुनै एउटा सरकारलाई मात्र जिम्मेवार ठह¥याउनु उचित हुँदैन ।

१५ प्रतिशत विकास बजेट खर्च गर्नका लागि ८५ प्रतिशत प्रशासनिक खर्च गर्छौं । कार्यक्षमताको अभावले जनआकांक्षा सम्बोधन हुन सकिरहेको छैन । एकखालको गम्भीर दुष्चक्रममा मुलुक फस्दै गएको छ । हिजोसम्म रेमिट्यान्सबाट आयात, आयातबाट राजस्व प्राप्ति गर्ने अर्थतन्त्ररुपी यो चर्खा चल्दै थियो । भोलिका दिनमा यही रुपमा यो चर्खा चल्छ भन्ने छैन । यसले थप गम्भीर समस्या निम्त्याउनेछ । एकातिर गरिखाने वर्गको उद्योग, व्यापार, आर्थिक गतिविधि ठप्प छ । चलेको छ भने ब्याजदरको मिटर, कर र विद्युत्को मिटर चलेको छ ।

लामो समयदेखि राज्यको स्रोत दोहन गर्ने बलियो श्रृंखला तयार भएको छ । यसलाई तोड्न अत्यन्त ठूलो कसरत आवश्यक छ । यसैको सेरोफेरोमा लगानी, पूर्वाधार र रोजगार समितिले जाने÷बुझेका विषयहरुको पृष्ठभूमीमा एउटा निष्कर्षमा पुग्यौं कि, अब भोलिको सबैभन्दा महत्वपूर्ण चुनौती भनेको एउटा नयाँ आन्दोलनको चुनौती हो । यो आन्दोलन राजनीतिक भन्दा पनि आर्थिक–सामाजिक रुपान्तरणसँग जोडिएको होस् । यही आन्दोलनलाई हामीले गरिखाने अभियानका रुपमा अघि बढाएका छौं ।

गरिखाने अभियान भनेको एउटा यस्तो ‘इकोसिस्टम’को निर्माण हो । जसमा एउटा युवाको सपनालाई बजारमा भएको माग र आपूर्तिको विश्लेषण सहित उद्यमका लागि आवश्यक पुँजी, सीप र व्यवस्थापनको प्रशिक्षणसहित व्यावसायिक सोचको कार्यान्वयन गर्न सघाउने हो । यसरी सघाउँदा त्यी उद्यमीले सफल रुपमा प्रतिफल हासिल गर्ने, स्थापित हुनका लागि आवश्यक निश्चित गतिविधि पूरा नहुँदासम्म विभिन्न तवरले सहयोग गर्ने विभिन्न स्तम्भमा हामीले गरिखाने अभियानलाई अड्याउने सोचले निर्देशित छौं । यसका लागि हामी निकै आशावादी छौं ।

यो सोचमा मुलुकभरीका राम्रो शैक्षिक र व्यवसायिक पृष्ठभूमी भएका विभिन्न पेशा र व्यवसायमा संलग्न वकिल, चिकित्सक, इन्जिनियर, बैंकर, लेखापरीक्षक, विभिन्न व्यवसायिक क्षेत्रबाट आर्थिक–सामाजिक रुपान्तरणमा अघि बढ्न अग्रसर भएर यो अभियान अघि बढाउन उत्साहीत छन् । देशभर गरिखाने अभियानको संरचना तयार हुँदैछ तर आकांक्षा र उत्साह भने देशभर सञ्चार भैसकेको छ । यसका महत्वपूर्ण दुई पक्ष छन्– १) इ–चौतारी । प्रविधिमा टेकेर आज धेरै मुलुकमा क्रान्तिकारी कामहरु भएका छन् । हाम्रो छिमेकी मुलुक भारतमै पनि आइटीसीले ल्याएको इ– चौपालले कृषिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ ।

यतिबेला कृषिमा सबैभन्दा ठूलो चुनौती भनेको उत्पादनको लागत कसरी घटाउने र आयातीत कृषि उत्पादनसँग कसरी प्रतिस्पर्धी बनाउने तथा छरिएको उत्पादनलाई बजारमा जोड्ने प्रणाली कसरी निर्माण गर्ने ? जबसम्म सम्पूर्ण प्रणाली बन्दैन तबसम्म कृषिको क्रान्ति नारामा मात्र सीमित हुन्छ । यो काम पक्कै पनि सहज छैन । यसका लागि धेरै ठूलो मेहनत, सिर्जनशीलता, विश्वको अनुभवलाई स्थानीयकरण गरीकन लागू गर्नुपर्ने हुन्छ ।
दोस्रो पक्ष हो– २) उद्यम छहारी । उद्यमको साचे देखि सम्भाव्य परियोजनाको रुपमा विकास पुँजी, सीप तथा प्रविधि, प्रशिक्षण, व्यवस्थापन, बजार तथा त्यस्ता उद्यमको दीगोपनाका सम्बन्धमा मैंले यहाँ चर्चा गरिसकेको छु । एउटा यस्तो स्थिति बनोस् अबको छोटो समयमै नेपाली कांग्रेसका प्रदेश, क्षेत्र, जिल्ला र स्थानीय तहका संरचनामा रहेका सबैलाई सहभागी गराएर गरिखाने अभियानलाई भरपर्दाे रुपमा देशव्यापीरुपमा अघि बढाउँदै आकांक्षी युवाहरुलाई उद्यम र रोजगारीको अवसर प्रदान गर्न सकियोस् ।

नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय बीपी कोइरालाले त्यो बेला पनि पुँजी र श्रमको समान वितरणको सोच अघि सार्नुभएको थियो । उहाँले अघि सारेको समाजवादको आधारशीला पनि पुँजी र श्रमको समन्यायिक वितरण नै थियो । २०४८ सालताका म नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष थिएँ । नेपाली कांग्रेसको सरकारले त्यसबेला लिएको नीतिले ७ ओटा विभिन्न नयाँ क्षेत्रको अर्थतन्त्रमा उदय भयो– पयर्टन (होटल तथा हवाई क्षेत्र), ऊर्जा, जलविद्युत्, दूरसञ्चार, बैंकिङ, रियलस्टेट लगायतका क्षेत्रको उदय त्यसपछि भएको हो । त्यसयता उदय भएका यी क्षेत्रले अहिले मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी)को ३५ प्रतिशत हिस्सा ओगट्छन् । यसले निजी क्षेत्रको लगानी आकर्षणको यात्रा जारी राख्यो । यसलाई श्रेय दिए पनि, नदिए पनि नेपाली कांग्रेसको नीतिले तय गरेको यो यात्रा जारी रह्यो ।

यसलाई बुझ्ने, देख्ने र यसबाट प्रभावित हुने र सकारात्मक सोचका धनीहरुले यो आर्थिक रुपान्तरणलाई कहिले बिर्सन सक्दैनन् । प्रविधिले रुपान्तरण गर्दै लगेको ‘डिजिटल ट्रान्सफरमेशन’ र ‘स्टार्टअप्स’को युगमा युवाहरुलाई एउटा जीवन्त समूह÷समुदायको रुपमा उभ्याउन नेपाली कांगेसले नेतृत्व गर्नैपर्छ । नेपाली कांग्रेसको अगाडी रहेको आजको सबैभन्दा प्रमुख आवश्यकता र चुनौती पनि यही नै हो । नेपाली कांग्रेसलाई व्यवसाय–मैत्री, गरिखाने वर्गको पार्टीका रुपमा र युवालाई प्रशस्त अवसर दिने पार्टी हो भन्ने स्थापित गर्नुपर्छ ।

–विनोद चौधरी
संयोजकः लगानी, पूर्वाधार र रोजगार: दृष्टिकोण एवं दीगो परियोजना केन्द्रीत विशेष समिति

कांग्रेसको लगानी, पूर्वाधार र रोजगार: दृष्टिकोण एवं दीगो परियोजना केन्द्रीत विशेष समितिले प्रकाशित गरेको मासिक बुलेटिनबाट

प्रतिक्रिया दिनुहोस्