Logo

Banner-news

‘आँखामा राखे पनि नबिझाउने’ चन्द्र ढकाल किन भए यति धेरै आक्रोशित ?


GDP Nepal
   ११ मंसिर २०७७, बिहिबार


काठमाडौं । उद्यमी चन्द्र ढकालको विशेषता हो विनम्रता र भद्रता । आम व्यावसायिक जगतमा मात्र नभइ राजनीतिक वृत्तमा, प्रशासनिक क्षेत्रमा तथा समाजका हरेक क्षेत्रमा उनको परिचय नै बनेको छ– शालीन उद्यमी ।

हुन पनि ढकाललाई नजिकबाट चिन्नेहरु भन्छन्– उनी रिसाएको कहिल्यै देखेको छैन, कसैलाई नराम्रो बचनले गाली गरेको पनि उदाहरण छैन ।

वाह्य जगतसँग मात्र नभै आफ्नै कर्मचारीसँग समेत समान व्यवहार देखाउने ढकाल हिजोआज भने केही फेरिएको जस्तै लाग्छन् । उनका पछिल्ला अन्तर्वार्तामा आक्रोश बढी नै देख्न सकिन्छ ।

चन्द्र ढकाल

कसरी फेरिए ढकाल ? उनीनिकट केही व्यवसायीका अनुसार आफूविरुद्ध श्रृंखलावद्ध आक्रमण भएपछि उनी फेरिन बाध्य भएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघमा प्रवेश गरेदेखि नै ढकाल सुरज वैद्य, पशुपति मुरारका, शेखर गोल्छा, ओम राजभण्डारी, ज्ञानेन्द्रलाल प्रधानलगायतसँग नजिक थिए ।

अहिले ढकालसँग वैद्य र राजभण्डारीमात्र नजिक छन् भने मुरारका र गोल्छा ढकालको विपरीत ध्रुवमा । प्रधानसँगको उनको सम्बन्ध न निकट छ, न तिक्ततापूर्ण नै ।

ढकाल र मुरारकाबीच खटपट अघिल्लो चुनावअघि नै सुरु भइसकेको थियो । मुरारका ज्ञानेन्द्रलाल प्रधानलाई एशोसिएट उपाध्यक्ष बनाउन चाहान्थे भने यसमा ढकालले रुचि देखाएपछि मुरारकालाई अप्ठ्यारो प¥यो ।

ढकालले निर्वाचनको तयारीस्वरुप थपेका एशोसिएट सदस्य कम्पनीहरुलाई वैधानिकता नदिने खेलमा मुरारका लागे र सिरहामा भएको महासंघ कार्यकारिणी समिति बैठकमा ढकाल र मुरारकाबीच भनाभनसमेत भएको थियो । यद्यपि, ढकाल पछि हटेनन् र उनका कम्पनीहरुले मताधिकार पाउने भएपछि उनी बलिया बने ।

ढकालविरुद्ध प्रधानलाई उठाउँदा महासंघभित्रको समीकरण फेरिने र मुरारकाले वरिष्ठ उपाध्यक्षमा अघि सारेका शेखर गोल्छा नै किशोरकुमार प्रधानसँग हार्ने स्थिति देखिएपछि चतुर मुरारकाले प्रधानलाई कोषाध्यक्षका लागि राजी बनाए ।

ढकाल निर्विरोध उपाध्यक्ष भए पनि मुरारकासँग उनको आत्मिय सम्बन्ध त्यसयता कहिल्यै हुन सकेन । यतिमात्र नभइ ढकालसँग गोल्छासमेत टाढिँदै गए । प्रधानले महासंघ अध्यक्ष भवानी राणासँगको विवादपछि राजीनामा नै दिएर सीएनआईसँग जोडिए ।

यता, गोल्छामाथि निष्कृय रहेको भन्दै जिल्लानगरका कतिपय व्यवसायीले स्वतः अध्यक्ष हुने व्यवस्था हटाउनुपर्ने आवाज उठाउन थाले । जिल्लानगरका ति व्यवसायीको आवाजलाई केन्द्रबाट विशिष्ठ सदस्य चण्डीराज ढकाल र उमेशलाल श्रेष्ठलगायतले बलियो साथ दिए ।

उपाध्यक्ष चन्द्र ढकाल भने यसमा सधैँ मध्यमार्गी भूमिकामा रहे । एकातिर मुरारका र गोल्छा विधान संशोधन गरिए महासंघ नै छाड्ने भन्दै हिँडिरहेको बेला ढकालले भने विधान संशोधन नै गरिए पनि गोल्छामाथि अन्याय गर्न नहुने र अर्को कार्यकालपछि मात्र यसलाई लागू गर्नुपर्ने आवाज उठाइरहे ।

तर, महासंघमा ढकालको मध्यमार्गी भूमिका मुरारका र गोल्छालाई स्वीकार्य भएन । ढकालले खुलेर विधान संशोधनको विपक्षमा उभिनुपथ्र्यो भन्ने अपेक्षा पूरा नभएपछि सो समूहले ढकाललाई विरोधी कित्तामै उभ्यायो ।

यसबीचमा ढकाललाई जिल्लानगरमा राम्रो आधार भएका पूर्वअध्यक्ष चण्डीराज ढकालले साथ दिएपछि मुरारका–गोल्छा समूह पूरै बिच्कियो । फलस्वरुप निर्वाचनमा किशोर प्रधानलाई अघि सा¥यो ।

यतिमात्र नभइ निर्वाचनमा अघि सारिएका प्रधान डमीमात्र बने र मुरारका तथा गोल्छाले लगातार ढकालविरुद्ध प्रहार गरिरहेपछि अहिले उनी पनि प्रतिरक्षाको अवस्थामा छन् ।

ढकालका पछिल्ला अन्तर्वार्तामा प्रतिस्पर्धी प्रधानका विषयमा कुनै टिप्पणी देखिँदैन भने आफूमाथि लान्छना लगाउने मुरारका र गोल्छाप्रति तिव्र आक्रोश देखिन्छ ।

कान्तिपुरसँगको अन्तर्वार्तामा आफू शेखर गोल्छासँगै लडेको अनुभूति भइरहेको बताउने ढकालले बिजमाण्डूसँगको अन्तर्वार्तामा शेखरजीहरुले आफू बसेको जमिन हल्लिएपछि मात्र थाहा पाउनुभयो भनेका छन् ।

कारोबारसँगको अन्तर्वार्तामा त ढकालले पशुपति मुरारकाले अँध्यारो कोठामा बसेर एक एक गर्दै भोट केलाइरहेको भन्नेसम्मको टिप्पणी गरेका छन् । ढकाललाई जिताए व्यवसायीले ३ वर्षसम्म पछुताउनुपर्ने मुराराकाको टिप्पणीलाई उनले अनैतिक र अमर्यादित भनेका छन् ।

ढकालले अन्य अन्तर्वार्ताहरुमा पनि मुरारका र गोल्छाविरुद्ध आक्रोश पोखेको पाइन्छ । यसरी शालीन र हँसिला ढकाल परिस्थितिले अर्कै रुप लिन बाध्य देखिएका छन् ।

आशा गरौं कि मंसिर १३ को साँझसँगै ढकाल पुरानै रुपमा देखिनेछन् । उस्तै मृदुभाषी र उस्तै शालीन ।

प्रकाशित : ११ मंसिर २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह