Logo

महासंघमा चण्डीराज र मुरारका प्रवृत्तिमध्ये कुन बढी घातक ?




काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयन भएकै दिन विशिष्ठ सदस्यमा पूर्वअध्यक्ष पशुपति मुरारकालाई मनोनयन ग¥यो । त्यसको भोलिपल्टै बहुमतका आधारमा कोषाध्यक्षमा शकुन्तलाल हिराचन निर्वाचित भए ।

शेखर गोल्छाले अध्यक्षको सपथ ग्रहण गरेको तर कार्यालय पुगेर पदबहाली समेत नगरेको अवस्थामा पहिलो बैठकमा मुरारकाको मनोनयन गर्ने प्रस्ताव राखे । होटल सोल्टीको खुलाजस्तै उक्त बैठकमा औपचारिक एजेण्डा थिएनन् ।

तर, गोल्छाले ल्याएको मुरारकाको मनोनयन प्रस्तावलाई वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पक्षले सहज रुपमा लिन सकेन र बैठक छाडेर बाहिरियो । यसले एकातिर गोल्छा समूह ढकाल समूहसँग मिलेरभन्दा पेलेरै जान उद्यत रहेको देखियो भने ढकाल समूह पनि पर्ख र हेरको रणनीतिमा देखिन्छ ।

मुरारकाको हतारमा गरिएको मनोनयनभित्रको रहस्य भने अर्कै छ । निर्वाचनमा आफ्नो पक्षले बहुमत प्राप्त गरे पनि अधिकांश सदस्यप्रति गोल्छा समूहलाई भर छैन । कुनै पनि बेला ति सदस्य चन्द्र ढकाल समूहमा जानसक्ने अवस्था देखिएकाले पहिलो पहिलो बैठकमा बिनाएजेण्डा मुरारकालाई विशिष्ट सदस्य मनोनित गरियो ।

त्यसो त मुरारकाले आफू महासंघमा विशिष्ट सदस्य नबन्ने भन्दै आएका पनि थिए । तर, धेरैले उनको यो कुरा पत्याएका पनि थिएनन् किनकी वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाललाई हराउन भएभरको शक्ति प्रयोग गरेका उनी शेखर गोल्छालाई निमित्त नायक बनाएर आफैं महासंघ हाँक्न चाहान्छन् भन्ने यथार्थ लुकेको थिएन ।

मुरारका आफ्नो बलियो आधार क्षेत्र मानिएको एशोसिएट उपाध्यक्ष र अधिकांश सदस्यमा असफल भएपछि नैतिक संकटमा पनि परेका थिए । जिल्लानगर र वस्तुगत समूहमा मुरारकाको शून्य प्रभाव छ । यतिसम्म कि वस्तुगत संघमध्येको एक सिमेन्ट उत्पादक संघको अध्यक्ष बन्न गरेको उनको प्रयास पनि गत वर्ष असफल रह्यो ।

गोल्छा समूहको बहुमतमा मुरारकाको हात पनि रहेन । किशोर प्रधानकै बलबुतामा जिल्लानगरमा राम्रो स्थान पाएको र अञ्जन श्रेष्ठको मेहनत र रणनीतिका कारण वस्तुगतमा पनि आधा सदस्यसहित यो समूहले जित हासिल गरेको हो ।

विगतका तीन निर्वाचनमा एशोसिएटको टिम नै क्लिन स्वीप गरे पनि यस वर्ष मुरारका आफ्नो टिमलाई जिताउन असफल बने । यसको शिकार भए सम्भावना बोकेका युवा उद्यमी सौरभ ज्योति ।

मुरारकालाई पहिलो बैठकमै विशिष्ट सदस्य मनोनित नगरे केही दिनमै आफ्ना सदस्यले गुट बदल्ने र उक्त स्थानमा चण्डीराज ढकाल मनोनित हुने जोखिमका कारण गोल्छाले उनलाई हतारमा मनोनयन गरेका हुन् ।

पदाधिकारीसरह हुने र मर्यादाक्रममा वरिष्ठ उपाध्यक्षभन्दा माथि रहने विशिष्ठ सदस्यको औचित्य र भूमिकामाथि महासंघमा केही वर्षदेखि बहस जारी छ ।
महासंघमा झन्डै डेढ दशकदेखि शक्तिमा रहेका पूर्वअध्यक्ष चण्डीराज ढकालको आलोचना गर्ने गरिन्छ । आफ्नो व्यवसाय केही नभएका ढकालले पूर्णकालिन समय महासंघलाई दिएर माइक्रो म्यानेजमेन्ट गरेको भन्दै आलोचना पनि हुने गरेको छ ।

ढकालको चलखेल र अनावश्यक भूमिकालाई लिएर पूर्वअध्यक्षहरुले विशिष्ठ सदस्यको प्रावधान नै हटाउनुपर्ने धारणा राख्दै आएका छन् । तर, तिनै पूर्वअध्यक्षहरुको समर्थन पाएका गोल्छाले मुरारकाको मनोनयन गरेर अग्रजहरुको सुझाव लत्याएका छन् ।

चण्डीराज ढकालको प्रवृत्तिले महासंघभित्र संस्थागत सुशासनमा समस्या पारे पनि समग्र निजी क्षेत्रको एजेण्डाका सम्बन्धमा भने त्यसले कुनै असर पार्ने अवस्था थिएन । विगत डेढ दशकमा ढकाल शक्तिशाली रहँदा पनि उनले आफ्नो व्यवसायलाई फाइदा पुग्ने वा निजी क्षेत्रको शाख नै गिर्नेगरी कुनै लबिङ गरेनन् ।

यसैले ढकाल प्रवृत्ति महासंघभित्र आन्तरिक लोकतन्त्र र संस्थागत सुशासनका निमित्त हानीकारक भए पनि समग्र निजी क्षेत्र तथा मुलुकका लागि भने त्यसबाट कुनै क्षति हुने अवस्था थिएन ।

तर, मुरारका प्रवृत्तिले भने सम्पूर्ण निजी क्षेत्रमाथि नै जोखिम देखिन्छ । मुरारकाले विगतमा अध्यक्ष रहँदा व्यवसायी कुमुद दुगडविरुद्ध कालोबजारीको आरोपमा पक्राउ पुर्जी जारी गर्दा दुगडलाई बचाउन महासंघ अध्यक्षको पदीय हैसियत दुरुपयोग गरेको आरोप लागेको छ ।

यतिमात्र नभइ हालै निवर्तमान अध्यक्षको हैसियतमा रहँदा थर्मल गन प्रकरणमा पक्राउ परेका विवादास्पद व्यापारी सुलभ अग्रवाललाई छुटाउन तथा उनीविरुद्धको मुद्दा कमजोर बनाउन पनि उस्तै चलखेल गरेको आरोप मुरारकामाथि लागेको छ ।

सुलभ अग्रवालविरुद्धको मुद्दा कमजोर बनाउन नेकपा नेता महेश बस्नेतको सहारा लिएको र सुलभका भाइ साहिल अग्रवाललाई साथै लिएर बस्नेतको घर गुन्डुसम्म पुगेको प्रमाण व्यवसायीहरुसँगै रहेको बताइन्छ ।

महासंघ अध्यक्ष भएपछि नै मुरारकाले व्यवसाय पनि आक्रामक रुपमा विस्तार गरेको तथा महासंघमा निवर्तमानपछि पूर्वअध्यक्ष भइसक्दा समेत उनको सक्रियतालाई लिएर व्यावसायिक स्वार्थसम्म जोड्नेको पनि कमी छैन ।

महासंघभित्रका प्रवृत्तिलाई नजिकबाट नियालीरहेका महासंघका पूर्व पदाधिकारीसमेत रहेका मारवाडी समुदायका एक प्रसिद्ध व्यवसायी भन्छन्– चण्डी ढकालका अनेक कमजोरी रहे पनि ऊ मनको सफा छ र निजी क्षेत्रका लागि ऊ चाहिने मान्छे हो तर पशुपति मुरारका भने कम्बल ओढेर घिउ खाने व्यवसायी हो, उसले आफ्नो स्वार्थका लागि महासंघलाई उपयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्