Logo

Banner-news

निजी क्षेत्रसँग नियमित र संस्थागत संवाद गर्नेछुः अर्थमन्त्री


GDP Nepal
   १८ मंसिर २०७७, बिहिबार


काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रसँग नियमित र संस्थागत संवाद गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा अर्थ मन्त्रालयद्वारा बुधबार आयोजित स्वागत कार्यक्रममा अर्थमन्त्रीले अर्थ मन्त्रालयले निजी क्षेत्रसंगको सहकार्यलाई विशेष जोड दिइआएको र आगामी दिनमा पनि यस कार्यलाई थप मजवुत बनाउंदै जाने विश्वास दिलाए ।

महासंघका तर्फबाट प्राप्त सुझावलाई आफूले अत्यन्त सकारात्मक रूपमा लिएको तथा महासंघसंग नियमित र संस्थागत संवादका माध्यमबाट अगाडी बढ्ने उनले प्रतिवद्धता जनाए ।

बजेट र मौद्रिक नीति मार्फत संवोधन गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सरकारको समेत जोड रहेको अर्थमन्त्री पौडेलले स्पष्ट पारे ।

कार्यक्रममा महासंघ अध्यक्ष शेखर गोल्छाले अवको समय मुलुुकको उद्योग व्यवसाय सहित समग्र अर्थतन्त्रको पुनरूत्थानका विषयमा निकै धेरै काम गर्नुपर्ने भएकाले महासंघले सोही अनुसार तयारी गरि अघि बढेको स्पष्ट पारे ।

अर्थतन्त्रको पुनरूत्थानका लागि महासंघले विज्ञ समेतको सहयोगमा अनुसन्धानमा आधारित रहेर सुझावहरू तयार गरी सरकारमा पेश गर्ने तयारी गरेको उनले जानकारी गराए ।

कोभिड संकटमा महासंघले दिएका कतिपय सुझावहरू बजेट तथा मौद्रिक नीति मार्फत संवोधन भएको तर स्थानीय तहमा साना उद्यमी व्यवसायीहरूले मौद्रिक नीति मार्फत दिइएका सुविधाहरू कार्यान्वयन गर्न वाणिज्य बैंकहरूले आनाकानी गरीरहेको जानकारीमा आएकाले मौद्रिक नीति मार्फत दिइएका सुविधाहरु अक्षरशः लागू गर्न गोल्छाले आग्रह गरे ।

साना उद्यमी व्यवसायी लक्षित विशेष स्टिमुलस प्याकेजकै खांचो औल्याउँदै गोल्छाले भने– त्यस्ता स्टिमुलस प्याकेजले विशेष गरी साना र कमजोर उद्यमी व्यवसायीलाई पुनरूत्थान गर्न सहयोग गरोस् ।
महासंघले अन्तराष्ट्रिय संस्थाको समेत सहयोगमा मुलुकको “भिजन डकुमेन्ट” तयार गर्ने कार्यलाई अगाडी बढाएको पनि उनको भनाइ छ । अध्यक्ष गोल्छाले राजस्व वोर्डलाई निजी क्षेत्रको समेत सल्लाह सुझावमा पूर्णता दिन आग्रह गर्दै यसले निजी क्षेत्रमा समेत थप जिम्मेवारीको बोध भई सहकार्य गर्न सहयोग पुग्ने सुझाव दिए ।

कार्यक्रममा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा पनि जोड दिइयो । अर्थ मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासेनी, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ र रामचन्द्र संघई सो अवसरमा सहभागी थिए ।

प्रकाशित : १८ मंसिर २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह