Logo

Banner-news

ईयूमा नेपालमाथिको उडान प्रतिबन्ध हट्ने, नेपालको सुधार प्रयासको प्रशंशा


GDP Nepal
   २२ मंसिर २०७७, सोमबार


काठमाडौं । युरोपेली संघ (ईयू)मा नेपाली वायुसेवा कम्पनीमाथिको उडान प्रतिबन्ध अब हट्ने संकेत देखिएको छ । सात वर्षदेखि नेपाली वायुसेवा कम्पनीमाथि प्रतिबन्ध लगाइरहेको ईयूले पछिल्लो समय नेपालले हवाई सुरक्षाका सम्बन्धमा गरेको सुधारको प्रशंशा गर्दै प्रतिबन्ध हटाउने संकेत गरेको हो ।

ईयूले अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै यस्तो संकेत गरेको छ । हवाई सुरक्षामा देखिएको चुनौती समाधान गर्न नेपाल सरकारले देखाएको प्रतिबद्धताका कारण आएको सुधारको प्रशंसा गरेको उल्लेख छ ।

‘नयाँ हवाई उड्डयन विधेयक संसद्मा दर्ता गराएको सहित नेपालले गरेका सुधारका विषयमा ईयू जानकार छ’, विज्ञप्तिमा उल्लेख छ । दर्ता भएको विधेयकको व्यवस्था अनुसार कार्यान्वयनमा ल्याउनु महत्वपूर्ण हुने पनि ईयूले जनाएको छ ।

नेपालको यस्तो प्रयासले सुरक्षा सूचीबाट हटाउने प्रक्रिया सुरु गर्न सहज हुने ईयूले उल्लेख गरेको छ । नेपालको संघीय संसदमा दर्ता भएको विधेयकले सुरक्षा सूचीबाट हटाउन लागू हुने तीनवटा मापदण्ड कार्यान्वयनमा लैजान सकिने पनि ईयूले स्पष्ट पारेको छ ।

विज्ञप्तिअनुसार ब्रसेल्समा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पछिल्लो पटक भएका सुधारका विषयमा प्राविधिक छलफल अघि बढाउन सकिने बाटो यसले खुला गरेको छ ।
त्यसैगरी हवाई सुरक्षाको प्रभावकारी कार्यान्वयन भए नभएको जानकारी लिन महानिर्देशक सहितको टोलीले नेपालमा भ्रमण गर्ने र नियोगले तयार गरेको प्रस्तावका आधारमा युनियनको हवाई सुरक्षा समितिले सुरक्षा सूचीबाट हटाउन सकिने प्रक्रिया पूरा हुनेछ ।

सुरक्षा सूचीबाट बाहिरिएपछि संघको हवाई सुरक्षा एजेन्सीबाट नेपालको मागका आधारमा आवश्यक प्राविधिक सहयोग समेत उपलब्ध गराउन सकिने विज्ञप्तिमा जनाएको छ । यो सहयोग ईयूले दक्षिण एसियाली उड्डयन सहकार्य परियोजना अन्तर्गत उपलब्ध गराइरहेको ६० करोड रुपैयाँभन्दा बढीको सहयोगको विकल्पका रूपमा हुनेछ ।

ईयूले आफ्नो विज्ञप्तिमा उक्त परियोजना अन्तर्गत नेपालको प्राधिकरणले स्थानीय र क्षेत्रीय रूपमा सुरक्षा व्यवस्थापन गर्न प्रयास गरिरहेको उल्लेख गरेको छ । यस बाहेक फ्रान्स र जर्मनीले पनि प्राधिकरणलाई विशेष हवाई सुरक्षाका लागि प्राविधिक तालिम दिने काम कार्यान्वयन गरिरहेको पनि ईयूले जनाएको छ ।

ईयूले नेपाललाई सन् २०१३ डिसेम्बर ५ देखि सुरक्षा सूचीमा राखेको थियो । सुरक्षा सूचीका कारण नेपाली हवाई सेवा प्रदायकले युरोप उडान भर्न सकेका छैनन् । यसले नेपालबाट युरोपमा सीधा सम्पर्क नहुँदा पर्यटक आवागमनमा पनि समस्या हुँदै आएको छ ।

प्रकाशित : २२ मंसिर २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह