Logo

Banner-news

मुलुकबाहिर बसेर नेपालको समृद्धि सम्भव छैन: नेपाल


GDP Nepal
   २ माघ २०७७, शुक्रबार


रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ राजधानीमा सुरु भएको छ ।


जब फेयर २०२१ को पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले उद्घाटन गरे । उद्घाटन समारोहलाई संवोधन गर्दै पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले जब फेयर २०२१ जागिर चाहने र रोजगारी दिन तयार रोजनगारदाताहरुका लागि उपयुक्त थलो बन्ने विश्वास व्यक्त गरे।


भित्रैबाट मुलुकको विकासको चाहना राख्ने हो भने विकास असंभव नरहेको बताउँदै पूर्व प्रधानमन्त्री नेपालले बाहिर बसेर चाहना राख्दैमा केही नहुने बताए ।


उनले सरकारप्रति लक्षित गर्दै भने ‘ताप्केको बिड तातेर केही हुँदैन–माछा पाक्न ताप्के नै तात्नुपर्छ तर नेपालमा ताप्के तात्दै तात्दैन, कसरी तताउने भन्ने नै अहिलेको मुख्य समस्या हो ।’
प्रधानमन्त्री के.पी शर्मा ओलीप्रति इंगित गर्दै पूर्व प्रधानमन्त्री नेपालले भने, ‘जसको ह्रदयमा विशालता हुँदैन, आत्मकेन्द्रित चिन्तन हावी हुन्छ, समस्याबारे अवगत भएर पनि विष्लेषण गरी समाधानतर्फ अग्रसरता देखाइदैन समस्या यसैबाट गहिरिदै जान्छ, अहिले भएको पनि यही हो ।’  


आफुले मुलुकमा सामाजिक न्याय सहितको समृद्धिको परिकल्पना गरेको भन्दै पूर्व प्रधानमन्त्री नेपालले भने ‘मिठो कुराले मात्रै युवामा आशा जाग्दैन–परिणामले जगाउनुपर्छ ।’

उद्घाटन समारोहमा रोजगार विज्ञ प्रा.डा. रमेशप्रसाद कोइरालाले स्वदेशमा रोजगार सिर्जना गर्नका  वैदेशिक लगानी आवश्यक रहेको तर्क गरे । त्यसका लागि द्धिपक्षीय लगानी संरक्षण तथा प्रवद्र्धन सम्झौता (विप्पा) तथा दोहोरो कर मुक्ति सम्झौता ( डिटिएए) जस्ता कानुनी प्रावधानमा सरकार स्पष्ट हुन जरुरी रहेको उनको भनाइ छ ।


त्यस्तै, समारोहलाई संवोधन गर्दै अर्थ–राजनीतिक विष्लेषक हरि रोकाले अहिलेकै अवस्था रहिरहे मुलुक भयानक मन्दितर्फ जान सक्ने चेतावनी दिए । कमजोर सरकारी खर्च, त्यसबाट उत्पादनमा ह्रास, बस्तुको मागमा कमी र पुनः रोजगारीमा कटौतिपछि मुलुक मन्दिको दुष्चक्रमा फस्ने उनको चेतावनी छ । यथास्थितिकै संरचनाबाट परिवर्तन संवभ नरहेको उनको भनाइ छ ।


त्यस्तै, पूर्वाधार विकासका जानकार तारा पौडेलले कृषि, पर्यटन, उर्जा, उद्योग, बैदेशिक रोजगारी नेपालको विकासका लागि संभावना भएका क्षेत्र रहेको उल्लेख गरे । यिनै क्षेत्रको विकासबाट नेपालमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न सकिने पनि उनले बताए।


पूर्व डिआइजी केशब अधिकारीले मुलुकभित्र देखिएका अपराधका मुख्य कारण बेरोजगारी रहेकोले यसतर्फ बलैमा सोच्नुपर्ने औंल्याए ।
एस्पायर नेपालको आयोजनामा मुलुकमै पहिलोपटक सुरु भएको नेपाल जब फेयर आगामी शनीबारसम्म चल्नेछ ।

जब फेयरले व्यावसायिक र पारदर्शी मानव संशाधन अभ्यास  (Ethical & Transparent HR Practice)   को सूत्रपात गर्ने लक्ष्य लिएको छ । जब फेयर मार्फत प्रविधिका माध्यमले युवा उद्यमशीलताको विकास गर्ने तथा मानव संशाधन क्षेत्रलाई थप गतिशील र विश्वसनीय बनाउने विश्वास लिइएको छ ।
जब फेयरमा एक सयभन्दा बढी रोजगारदाताको सहभागीता रहेको छ ।

जब फेयर अवधिभर १५० भन्दा बढी अन्तर्वार्ता सेसन सञ्चालन हुनेछन् । जसबाट ३००० भन्दा बढीको रोजगारी सुनिश्चित हुने अपेक्षा गरिएको छ ।
“नेपालमा रोजगारदाता र बेरोजगार युवाबीच ठूलो ग्याप छ, त्यो ग्यापलाई पूरा गर्न हामीले पहिलोपटक नेपाल जब फेयर २०२१ आयोजना गरेका हौंं,” नेपाल जब फेयरका भाइस प्रेसिडेन्ट प्रमोश अधिकारीले भने, “जब फेयरमार्फत वेरोजगार युवाले पनि रोजगारदाता कम्पनीसमक्ष खुलेर आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुहुनेछ भने रोजगारदाता कम्पनीहरुले पनि आफूलाई अहिले आवश्यक र भविष्यमा चाहिने जनशक्तिको छनोट गर्नुहुनेछ ।” जब फेयरले मानव संशाधनका क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा र रचनात्मक अभ्यासको सिर्जना गर्ने अपेक्षा लिइएको छ ।  

प्रकाशित : २ माघ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह