भारतले आजदेखि नेपालसहितका छिमेकीलाई कोरोनाविरुद्ध खोप अनुदानमा दिने
काठमाडौं । भारतले बुधबारदेखि नेपालसहित छिमेकी मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदानस्वरूप बुधवारबाट कोरोनाभाइरस खोप उपलब्ध गराइनेछ ।
भारतले नेपालसहित भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, म्यानमार र सेसल्सलाई बुधवारबाट खोप अनुदानमा वितरण गरिने भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
तर, नेपालले कति परिमाणमा खोप प्राप्त गर्छ भन्ने स्पष्ट भइसकेको छैन र नेपाली पक्षले पनि यसबारेमा प्रष्ट जानकारी पाउन सकेको छैन। नेपाल आफैंले खोप खरीदका विषयमा अलमल गरिरहेको बेला छिमेकी भारतको सहयोग प्राप्त हुने भएको हो ।

यसअघि भारतीय विदेशमन्त्रालयले श्रीलंका, अफगानिस्तान र मोरिससलाई त्यहाँका नियामक निकायहरूले स्वीकृति दिएपछि खोप उपलब्ध गराउने जनाएको थियो। नेपालको औषधि व्यवस्था विभागले भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफर्ड एस्ट्राजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।
भारतभित्र पनि खोपको उच्च माग छ । अग्रमोर्चामा खटिने कामदार र जोखिममा रहेका जनसंख्यालाई खोप उपलब्ध गराउँदै आएको भारतले छिमेकी देशहरूलाई पनि चरणबद्ध रूपमा आगामी हप्ता र महिनामा खोप उपलब्ध गराउने उल्लेख गरेको छ।
विदेश मन्त्रालयको विज्ञप्तिमा देशभित्रका उत्पादकहरूले भारतभित्रको आन्तरिक माग पुरा गर्ने हिसाबको पर्याप्त भण्डारण गरेपछि खोप बाहिर पठाउने कुरा सुनिश्चित गरिने उल्लेख गरेको छ।