Logo

म्यानमारमा फेरि सैनिक कूः सू ची लगायत दर्जनौं पक्राउ, टेलिफोन-इन्टरनेट पनि बन्द




म्यानमार (एजेन्सी): दक्षिण पूर्वी एसियाली मुलुक म्यानमारमा सेनाले फेरि सत्ता आफ्नो हातमा लिने प्रयास गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ सान सू ची लगायत दर्जनौं नेतालाई पक्राउ गरेको छ ।

म्यानमारमा रहेका नेपाली पत्रकार दिपक भट्टराईका अनुसार बर्मेली सेनाले सबै जन निर्वाचित सांसदलाई नियन्त्रणमा लिएको छ। मन्त्री सबै नियन्त्रणमा छन्। प्रजातान्त्रिक अधिकारवादीहरू पनि नियन्त्रणमा लिन सुरु भएको छ। राजधानी र प्रमुख शहरका संचार सम्पर्क विच्छेद गर्न सुरु गरिएको छ।

सेनाले राति २ बजेदेखि नेताहरूलाई नियन्त्रणमा लिन थालेको अहिले पनि जारी रहेको भट्टराईले ट्वीटमा उल्लेख गरेका छन् ।

यद्यपि, राष्ट्रपति वीन मिन्ट र आङ सान सू चीसहित सबै प्रजातान्त्रिक नेतालाई नियन्त्रणमा लिएको बर्मेली सेनाले कुनै प्रतिक्रिया दिएको छैन। बर्मेली विश्लेषकहरू सेनाले यस कदमलाई कु नभनी संकटकाल मात्र भन्छ भनेका छन्। प्रजातान्त्रिक नेता र अधिकारवादीहरू भने सेनाको कदमलाई कु भनेका छन्।

पक्राउ परेकी सू ची म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी एनएलडीकी नेतृ हुन् । उनी लामो प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेवापत नोबल शान्ति पुरस्कारबाट सम्मानित भइसकेकी छन् ।

केही दिनयता म्यानमारमा सेनाले सत्ता हत्याउने आशङ्का गरिएको थियो । गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ।

सेनाले उक्त चुनावमा धाँधली भएको दावी गर्दै आए पनि विश्व समूदायले भने निर्वाचन परिणामलाई स्वीकार गरिसकेको छ । सू चीको बहुमत आएको चुनाव परिणाम सेना समर्थित दलले नमान्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्