Logo

Banner-news

कहिले सुध्रेला यातायात ? पहिले लाइसेन्स पाउन सास्ती, अहिले ट्रायल दिनै ६ महिना !


GDP Nepal
   २६ माघ २०७७, सोमबार


काठमाडौं । सवारी चालक अनुमतिपत्रका लागि ट्रायल पास परेको २ वर्षसम्म पनि स्मार्ट लाइसेन्स हात नपर्ने समस्या पुरानो भएको छैन । कोभिडका कारण नयाँ लाइसेन्स जारी नभएकाले पुराना र नवीकरण गर्नेले हाल तीन महिनामै यस्तो लाइसेन्स पाउने भए पनि अहिले ट्रायलमा भयावह समस्या थपिएको छ ।

कोभिडका कारण लामो समय रोकिएको ट्रायल परीक्षाका लागि आवेदन दिनेको सङ्ख्या ५ लाख नाघिसकेको छ र यो संख्या अझै कति बढ्ने हो टुंगो छैन । तर, यातायात व्यवस्था कार्यालय भने सीमित साधन स्रोतका कारण अहिले फर्म भर्नेको पालो ६ महिनापछि आउने बताइरहेको छ ।

लिखित परीक्षाका लागि कुनै समस्या नरहे पनि काठमाडौंमा ट्रायल सेन्टर जम्मा चारवटा मात्रै छन् । तत्कालीन यातायातमन्त्री रमेश लेखकले आफैं तत्परता देखाएर काठमाडौंमा तीन नयाँ कार्यालय स्थापना गरे पनि संघीयतापछि न कुनै कार्यालय खुलेका छन्, न सुधारको प्रयास भएको छ ।

गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रका लागि आवेदन लिने काम स्थगित गरेको थियो ।

झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले चाप बढी भएको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले बताए ।

भुसालका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

कोभिड–१९ बाट सुरक्षित हुँदै असारदेखि कार्यालय खुलेपनि नयाँ चालक अनुमतिपत्र सेवा अवरुद्ध थियो । कार्यालयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखेपनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो ।

प्रदेश सरकारअन्तर्गत रहेका कार्यालय र सङ्घीय सरकारअन्तर्गतको विभागबीचको समन्वयमा नै गत पुसदेखि नयाँ अनुमतिपत्र खुलाइएको थियो ।

संविधानअनुसार यातायातसम्बन्धी जिम्मेवारी सङ्घ र प्रदेशमा बाँडिएपछि कार्यालयहरु नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।

अहिले विभागले चालक अनुमतिपत्रको सर्भरको काम र छपाइको काम गरिरहेको छ ।

कार्यालयहरुले अनुमतिपत्रको परीक्षा सञ्चालन, वितरण र नवीकरण गर्दै आएका छन् । काठमाडौँ उपत्यकामा वाग्मती प्रदेश सरकारले एकान्तकुनासँगै चावहिल, सानो भर्याङ र जगातीमा रहेका कार्यालय रहेका छन् ।

प्रकाशित : २६ माघ २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह