Logo

Banner-news

इन्फ्रास्ट्रक्चर बैंकको बजार पुँजीकरण १ खर्ब पुग्दै, कहिलेसम्म बढ्छ सेयर ?


GDP Nepal
   ६ फाल्गुन २०७७, बिहिबार


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सेयर मूल्य लागातार चौथो दिन १० प्रतिशतले बढेसँगै कारोबार पनि सर्वाधिक भएको छ ।

आइतबारबाट कारोबार सुरु भएको बैंकको बुधबार सर्वाधिक करिब ७० करोड रुपैयाँको सेयर किनबेच भएको छ। बैंकको १६ हजार ७२४ कारोबारबाट १३ लाख ९७ हजार कित्ता सेयर ६९ करोड ४३ लाख रुपैयाँमा किनबेच भएका छन् ।

आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको यस बैंकको सेयर मूल्यमा लगानीकर्ताको उच्च आकर्षण रहेसँगै प्रत्येक दिन सकारात्मक सर्किट लागिरहेको छ ।

दुई साताअघि मात्र यसको साधारण सेयर बाँडफाँड भएको थियो भने अघिल्लो सातामात्र २० करोड कित्ता नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको थियो ।

बुधबार ४९७ रुपैयाँमा अन्तिम कारोबार भएको निफ्राको बजार पुँजीकरण अहिलेसम्म ९९ अर्ब ४० करोड रुपैयाँ पुगिसकेको छ भने १ खर्ब पुग्न मात्र ६० करोड बाँकी छ । २० करोड कित्ता सेयर सूचीकरण भएकाले प्रतिसेयर ३ रुपैयाँ बढ्नेवित्तिकै यस कम्पनीको बजार पुँजीकरण १ खर्ब पुग्नेछ ।

निफ्रा सेयर बजारको पछिल्लो कम्पनी भए पनि यसको सेयर बजारमा ठूलो संख्यामा रहेको र दिनदिनै बढोत्तरीसमेत भइरहेकाले कुन विन्दुबाट ओरालो लाग्ने हो भन्ने टुंगो छैन । पुँजीबजारका साना ठूला सबै लगानीकर्तासँग निफ्राको सेयर रहेकाले यसको मूल्य पछिसम्म यही गतिमा बढिरहन्छ भन्ने आकलन गर्न नसकिने जानकारहरु बताउँछन् ।

कतिपय लगानीकर्ताले यसको मूल्य ८ सय रुपैयाँसम्म पुग्ने आकलन गरिरहे पनि त्यो विन्दुसम्म पुग्ने सम्भावना कम रहेको टिप्पणी गर्नेको पनि कमी छैन । यद्यपि, बुधबार सर्वाधिक कारोबार भएको आधारमा बिहीबारसम्म बजार भने बढ्ने देखिन्छ । अर्को साताको कारोबारमा भने बैंकको सेयर मूल्य यही गतिमा बढ्ने देखिँदैन ।

बजारमा आपूर्तिभन्दा माग बढी भए सेयर मूल्य बढ्छ तर निफ्राको अहिले माग धेरै रहे पनि आपूर्तिका लागि तयार लगानीकर्ता पनि धेरै भएकाले मूल्यमा चाँडै उतराचढाव आउने देखिन्छ ।

बुधबारसम्म निफ्रामा न्यूनतम ५० कित्ता पर्नेले १९ हजार ८५० रुपैयाँ कमाइसकेका छन् भने ६० कित्ता साधारण सेयर पर्नेले २३ हजार ८ सय २० रुपैयाँ कमाइसकेका छन् ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह