Logo

Banner-news

पर्यटन बोर्डको भूमिकाप्रति व्यवसायीका गुनासै गुनासा


GDP Nepal
   १८ फाल्गुन २०७७, मंगलबार


काठमाडौं । कोभिडका कारण चरम संकटमा परेको पर्यटन क्षेत्रलाई लयमा फर्काउन सरकारले कुनै चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरिरहेको निजी क्षेत्रले नेपाल पर्यटन बोर्डको भूमिका पनि सन्तोषप्रद नरहेको भन्दै आलोचना गरेका छन् ।

बोर्डको मुख्य काम पर्यटन प्रवर्द्धन गर्ने भए पनि कोभिडपछिको पर्यटन पुनरुत्थानमा उसको भूमिका प्रभावकारी हुन नसकेको निजी क्षेत्रको भनाइ छ ।

मुलुकको पर्यटन प्रवर्द्धनका लागि सरकार–निजी क्षेत्रबीच सहकार्यमा स्थापित बोर्डले निजी क्षेत्रलाई उपेक्षा गर्दै सरकारी निकायका रुपमा प्रस्तुत हुन लागेको टिप्पणी व्यवसायीहरुको छ ।

पर्यटन बोर्ड सञ्चालक समितिमा हालै नियुक्त तीन सदस्य चन्द्रप्रसाद रिजाल, कृष्ण शाह र ङावा ङिमा शेर्पाको स्वागतमा होटल संघ नेपालले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले पर्यटन पुनरुत्थानमा बोर्ड गैरजिम्मेवार बनेको बताए ।

“हाम्रो पर्यटन कसरी अगाडि बढाउने भन्नेमा सरकार प्रष्ट छैन,” संघका प्रथम उपाध्यक्ष विनायक शाहले भने, “एकातिर कोरोनासँग संघर्ष गरिरहेको पर्यटन उद्योगलाई बचाउने कार्यक्रम छैन भने अहिले आउन चाहिरहेका पर्यटकलाई अलि सहज गरिदिनुप¥यो भन्दा त्यो पनि हुन सकेको छैन ।”

शाहले यस्तो बेलामा पर्यटन बोर्डले सरकार र निजी क्षेत्रबीच पुलको काम गरेर पर्यटनलाई अगाडि बढाउनुपर्ने भए पनि बोर्डले कुनै काम गर्न नसकेको टिप्पणी गरे ।

बोर्डका सदस्यत्रय रिजाल, शेर्पा र शाहले पनि बोर्डको भूमिका प्रभावकारी बन्न नसकेको स्वीकार गरे । आफूहरु भर्खरै बोर्डमा आएको उल्लेख गर्दै उनीहरुले बोर्डमा संस्थागत र संरचनागत कमजोरी महशुस गरेको उल्लेख गरे ।

निजी क्षेत्रको आवाज बोर्डमार्फत नै सरकारसमक्ष पु¥याउनुपर्छ भन्नेमा आफूहरु सहमत रहेको उल्लेख गर्दै बोर्ड सदस्य शेर्पाले पर्यटनसँग सम्बद्ध संघसंस्थाको एकीकृत लबिङ हुन नसक्दा पनि समस्या रहेको स्पष्ट पारे ।

हान अध्यक्ष सृजना राणाले बोर्डका नयाँ सदस्यहरु पर्यटन क्षेत्रसँग जानकार रहेकाले भूमिका सशक्त हुनुपर्ने धारणा राखिन् । हानका द्वितिय उपाध्यक्ष प्रवीण पाण्डेले पर्यटन पुनरुत्थानका लागि सरकार उदार बन्नुपर्ने बताए भने महासचिव साजन शाक्यले निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले पर्यटन क्षेत्रलाई लयमा फर्काउन सरकार गम्भीर रहेको र यसका लागि गृहकार्य भइरहेको बताए ।

प्रकाशित : १८ फाल्गुन २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह