Logo

नेपाल-फ्रान्स बिजनेस फोरम बैठक तीन महिनाभित्रै




काठमाडौं । नेपाल फ्रान्स बिजनेस फोरम बैठक तीन महिनाभित्रै हुने भएको छ । बैठकमा नेपाली व्यवसायीका तर्फबाट कोभिड पश्चात नेपालको आर्थिक अवस्था र नेपालमा लगानी सम्भाव्यता विषयमा विस्तृत प्रस्तुती रहने जनाइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीच बिहीबार महासंघ सचिवालयमा भएको भेटवार्तामा यो सहमति भएको हो ।

भेटवार्तामा नेपाल र फ्रान्स बीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, आर्थिक सहकार्यका विविध विषयमा छलफल भयो । भेटवार्तामा आगामी जुन महिनाअघि नेपाल फ्रान्स विजनेश फोरम बैठक आयोजना गर्ने सहमति भएको जनाइएको छ ।

भेटवार्तामा अध्यक्ष गोल्छाले नेपाल फ्रान्स बीच आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्षेत्रमा लगानी एवं सहकार्यको लागि आग्रह गरे ।

अध्यक्ष गोल्छाले कोभिड पछि नेपालको अर्थतन्त्रले निकै छिट्टै लय समाउन थालेको जानकारी गराए । उनले दुवै देशका निजी क्षेत्र बीच सम्पर्क विस्तार मार्फत नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि, व्यापार विस्तार लगायतमा जोड दिए ।

राजदूत लेजेले फ्रान्स र नेपाल बीचको आर्थिक एवं व्यवसायिक सम्बन्ध विस्तारलाई थप मजवुत बनाउन आफूले निरन्तर पहल गरीरहेको बताए ।

गएको वर्ष नेपालबाट भएको फ्रान्सको उच्चस्तरीय भ्रमणमा महासंघको पनि सहभागिता रहेको र सो क्रममा महासंघ र मेडेफ इन्टरनेशनल बीच सहमतीपत्रमा हस्ताक्षर भएको पनि उनले स्मरण गरे ।

नेपालको आर्थिक विकासमा फ्रान्सको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाउंदै नेपाल फ्रान्स विजनेश फोरम बैठकलाई परिणाममुखी बनाउने दृढता समेत राजदूत लेजेले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्